काठमाडौं- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधयेकको छलफलका क्रममा सांसद प्रेम सुवालले प्रस्ताव राखे, 'आर्थिक वर्ष सुरु हुने मितिलाई परिवर्तन गर्नुपर्छ।'
साउन १ गतेबाट आर्थिक वर्ष सुरु गर्दा वर्षातको समयमा धेरै रकम खर्च हुने त्यसले बजेट अनुशासन बिगार्ने भएकाले वैशाख १ गतेबाट आर्थिक वर्ष सुरु गर्नुपर्ने उनको तर्क थियो। उनले बजेटको रकमान्तरमा लेखाउत्तरदायी अधिकारीसँगै मन्त्रीलाई पनि जिम्मेवार बनाएको बताए।
लगत्तै सांसदहरुले विधयेकका सम्बन्धमा उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा पुगे अर्थमन्त्री डा. युवराज खतिवडा। खतिवडाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सक्रिय नहुँदा बेरुजुका फाइल पेन्डिङमा रहे पनि अब त्यस्तो नहुने बताए।
उनले महालेखापरीक्षकको कार्यालयले सम्परीक्षणका नाममा अल्झाउने अवस्थाको अन्त्य गर्दै त्यसलाई अब छिटो बनाएको उल्लेख गरे।
आफ्नो मन्तव्यको अन्तिममा खतिवडा सुवालले उठाएको जिज्ञासामा प्रवेश गरे। उनले भने, 'आर्थिक वर्षको कुरामा चाँही हामीले नाच्न जान्नुपर्छ, आँगन आफैँ सोझिन्छ। मैले यति मात्रै भनेँ धन्यवाद!'
मंगलबारको प्रतिनिधिसभा बैठकले यो विधयेक पारित गरेको छ। विधयेक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रियसभाले पारित गरेसँगै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन कार्यान्वयनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।