काठमाडौं- पछिल्लो समय हाइब्रिड कारको चर्चा बढेको छ। सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत हाइब्रिड गाडीमा भन्सार तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेसँगै नेपाली बजारमा हाइब्रिड गाडी भित्र्याउने सवारी आयाकर्ताहरु लागि परेका छन्।
नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले पनि हाइब्रिड कार ल्याएको छ। कम्पनीले भदौ १० गतेदेखि हुने नाडा अटो शो २०१९ मा हाइब्रिड कारलाई नै मुख्य आकर्षणको रुपमा राख्ने भएको छ।
सिजी मोटोकर्पले नाडा अटो शोमा सुजुकीका तीन हाइब्रिड कार एस–क्रस, इर्टिगा र सियाज ल्याउने तय भएको सिजी मोटोकर्पका मार्केटिङ म्यानेजर करुण शाक्यले बताए।
‘यो वर्षको अटो शोमा सुजुकीका तीन हाइब्रिड कार आउने तय भएको छ,’ शाक्यले भने, ‘मारुती सुजुकीका स्मार्ट हाइब्रिड कार अटो शो २०१९ को आकर्षणको रुपमा रहने छ।’
नेपालमा विगतमा केही संख्यामा हाइब्रिड कार आएको भएपनि महंगो गर्ने भएकाले उल्लेख्य रुपमा आउन सकेको थिएन। सरकारले हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिएकाले मारुती सुजुकीका साथै अन्य ब्रान्ड हाइब्रिड कारसमेत नाडा अटो शोमा आउने भएका हुन्।
तीन हाइब्रिड कारका साथै अटो शोमा मारुती सुजुकीका भिटारा ब्रेजा, इग्निस, स्वीफ्टलगायत कार बिक्री तथा प्रदर्शनीका लागि राखिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।