सुर्खेत- प्रदेशको राजधानी भएसँगै सुर्खेत व्यापारिक केन्द्रका (हब) रूपमा विकसित हुँदै गएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गत सालभन्दा उद्योगको सङ्ख्या बढेको हो। यो आर्थिक वर्षमा ४ सय ६८ साना उद्योग थपिएका छन्। आर्थिक वर्ष २०७४/७५ मा सुर्खेतमा ७ सय ७७ साना उद्योग थिए। यो साल मात्र ४ सय ६८ उद्योग थपिएका छन्। अहिले यहाँ १२ सय ४५ साना उद्योग छन्।
पछिल्लो समय सुर्खेतबाट कर्णालीका जिल्लामा सडक पहुँच बढ्दै जाँदा उद्योगको आकर्षण बढेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले जनाएको छ। उत्पादनमूलक एक सय ७४, कृषि तथा वन पैदावारमा आधारित ५ सय ४६, निर्माण १६, पर्यटनसम्बन्धी एक सय १६ र सेवामूलक ३ सय ९३ नयाँ उद्योग स्थापना भएको कार्यालयका कामु निर्देशक शम्भुप्रसाद पौडेलले बताए।
सुर्खेतको सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा धेरै उद्योग सञ्चालन नभएको निर्देशक पौडेल बताउँछन्। उनका अनुसार प्रदेशको राजधानीसमेत रहेको जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा सबैभन्दा बढी उद्योग दर्ता भएका छन्। गुर्भाकोट र भेरीगंगामा पनि उद्योगको आकर्षण बढेको छ। उनका अनुसार पशुपालन, तरकारी लगायतमा बढी उद्योग दर्ता भएका छन् भने महिलाहरू अझ बढी उद्योगप्रति आकर्षित देखिएका छन्।
सरकारले महिला, दलित र विपन्नलाई एक करोड बराबरको लगानीमा ९० प्रतिशत राजस्व छुट दिएकाले पनि महिला यसप्रति आकर्षित भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ।
जिल्लाका २२ उद्योगलाई अनुदान, ८ सय जनालाई तालिम लगायतका प्राविधिक काम गरिएको कामु निर्देशक पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।