नयाँ दिल्ली (एजेन्सी)- विरोधका कारण भारतका चार राज्यमा प्रदर्शन हुन नसकेको फिल्म 'पद्मावत'ले पाँच दिनमा एक सय करोड भारुभन्दा बढी व्यापार गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार, रिलिज भएका स्थानहरुमा फिल्मको राम्रो पदर्शन भएको छ। गत बुधबार केही स्थानमा मात्र प्रदर्शन भएको पद्मावतले ५ करोड, बिहीबार १९ करोड, शुक्रबार ३२ करोड, शनिबार २७ करोड र आइतबार ३१ करोड भारु व्यापार गरेको छ। यसअनुसार फिल्मले ५ दिनमा १ सय १४ करोड भारुभन्दा बढीको व्यापार गरेको छ।
भारत बाहिर अस्ट्रेलिया र बेलायतमा पनि फिल्मले राम्रो व्यापार गर्न सफल भएको छ।
सञ्जय लीला भन्सालीको निर्देशित फिल्मले सुटिङको समयदेखि नै विवाद खेप्दै आएको थियो। भारतको राजपूतको जातीय संगठन करणी सेनाले फिल्ममा आफ्नो समुदायको गौरव रानी पद्मावतीलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै विरोध गर्दै आएका थिए। उनीहरुको विरोधका कारण फिल्मको नाम पद्मावतीबाट 'पद्मावत'मा परिवर्तन गरिएको थियो।
फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहीद कपुरको मुख्य अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।