काठमाडौं- भन्सार विभागले वैदेशिक व्यापारका लागि विदेशी मुद्रा सटहीको सुविधा लिएका व्यवसायिक प्रतिष्ठानको खोजी थालेको छ। नेपाल राष्ट्र बैंकबाट व्यवसायिक प्रयोजनका लागि विदेशी मुद्रा सहटी सुविधा लिएका व्यवसायीहरुबाटै गैरकानुनी कारोबार भइरहेको आशंकामा भन्सारले उनीहरुको तथ्यांक खोजेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै त्यस्ता व्यवसायीबारे जानकारी दिन आग्रह गरेको छ। भन्सारले केही दिनअघि पठाएको पत्रको जवाफ केन्द्रीय बैंकले भने फर्काइसकेको छैन।
'डलर सटहीको सुविधा लिएका व्यवसायिक फर्म तथा प्रतिष्ठानहरुबाटै विदेशी मुद्रा अपचलन हुने गरी व्यापारिक क्रियाकलाप सञ्चालन गरेको जानकारीमा आएकाले त्यस्ता कार्यलाई नियन्त्रणमा लिन विवरण खोजिएको हो,' भन्सार विभाग स्रोतले भन्यो, 'जुन प्रयोजनका लागि सटही सुविधा लिइएको हो, त्यही प्रयोजनमा मात्रै त्यो रकम उपयोग होस् भन्ने हाम्रो चाहना हो, व्यापारमा शुद्धीकरण ल्याउन सटही सुविधा लिएकाहरुको विवरण खोजिएको छ।'
विदेशी मुद्राको सटही सुविधा लिएका व्यवसायीका क्रियाकलापका कारण नेपालबाट व्यापारिक प्रयोजनका नाममा अनावश्यक रकम बाहिरिने गरेको सूचनाका आधारमा त्यसैलाई कडाई गर्न भन्सारले राष्ट्र बैंकलाई पत्राचार गरेको हो। 'रकम बाहिरिँदै जाँदा सम्पत्ति शुद्धीकरणको पनि जोखिम बढ्दै जान्छ, ती सबैलाई ध्यानमा राखेर पारदर्शी व्यापार कायम गर्न यो पत्र पठाइएको हो,' स्रोतले भन्यो।
भन्सारको आन्तरिक मूल्यांकनबाट जोखिमयुक्त क्षेत्रका रुपमा विदेशी मुद्राको सटही गर्नेहरुको कारोबार पनि रहेको निर्क्यौल निकालेपछि राष्ट्र बैंकबाट उनीहरुको विवरण नै मागेर अध्ययन गर्ने तयारी गरिएको हो। भन्सारले सुक्ष्म निगरानीबाट जोखिमपूर्ण भनि तय गरिएका क्षेत्रबाट भइरहेका व्यापारिक क्रियाकलापमा विदेशी मुद्रा सटहीको सुविधा दुरुपयोग भएको समेत पाइएकाले निगरानी बढाउन विवरण खोजिएको स्रोतको दाबी छ।
'अनुभवका आधारमा भन्सारले एउटा रिस्क प्रोफाइल तयार गरेको छ, त्यसमा जरिवानामा परेका, गैरकानुनी व्यापारमा संलग्न रहेका व्यवसायीको सम्पूर्ण विवरण समावेश गरिएको छ,' स्रोतले भन्यो, 'हाम्रो अध्ययनले कमजोर रहेका क्षेत्रको निगरानी बढाउन र अवैध व्यापार रोक्न यो रणनीति अपनाउनु परेको हो।'
भन्सारले क्षमता नै नभएको व्यक्तिका नाममा ठूला कारोबारसमेत भएको भेटिएपछि यसमाथि थप कडाई गर्न खोजेको हो। यसअघि राजस्व अनुसन्धान विभागले पनि व्यापारिक क्षमता नै नभएका व्यक्तिको नाममा कम्पनी दर्ता गरी व्यापारिक कारोबार गरिरहेको फेला पारेको थियो।
नेपाल राष्ट्र बैंककी कार्यकारी निर्देशक सरिता भट्ट अधिकारीले यसबारे अहिलेसम्म आफूलाई जानकारी प्राप्त नभएको बताइन्। उनले व्यापारिक प्रतिष्ठानले विभिन्न उद्देश्यका लागि विदेशी मुद्रा सटही सुविधा लिने र त्यसको उपयोग भए/नभएको भन्सारले हेर्न सक्ने बताइन्।
'व्यापार व्यवसाय गर्नेहरुले आफ्नो आवश्यकताअनुसार विदेशी मुद्रा सटहीको सुविधा लिन्छन् र त्यसबाट वैदेशिक व्यापार गरिरहेका हुन्छन्,' उनले भनिन्, 'राष्ट्र बैंकले आवश्यकताका आधारमा त्यस्तो सुविधा दिने हो।'
भन्सारले असल र खराब व्यवसायीलाई छुट्याउन र सुविधा लिएका व्यवसायीले सही व्यापार गरे/नगरेको हेर्न सक्ने गरी तथ्यांक खोजेको छ। राष्ट्र बैंकको यो तथ्यांकपछि भन्सारले पहिचान गरेका जोखिमपूर्ण क्षेत्रमा मुद्रा प्रयोग भए/नभएको हेर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।