काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल २०१९ अनुस्का श्रेष्ठलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। सोमबार एक कार्यक्रमका बीच व्यवसाय प्रवर्द्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।
राष्ट्रिय वाणिज्य बैंक र दि हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र हिडन ट्रेजरका तर्फबाट अध्यक्ष सुन्दरलाल कक्षपतिले हस्ताक्षर गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य निजी क्षेत्रका अरु बैंकसँग प्रतिस्पर्धा गर्दै गएको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गरिने बताए। व्यवसाय विस्तार गर्नेक्रममा त्यसको प्रवर्द्धनका लागि बैंकले ब्राण्ड एम्बेसडरमा मिस नेपाल श्रेष्ठलाई नियुक्त गरेको उनको भनाइ छ।
एम्बेसडरमा नियुक्त भएकि मिस नेपाल श्रेष्ठले आफू पनि बैकिङ क्षेत्रबाटै आएको हुनाले अहिले फेरी बैंकिङ क्षेत्रसँग जोडिन पाउँदा खुशी लागेको बताइन्।
बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षारता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैकिङ कारोबार संचालन लगायतका लक्ष लिएको छ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, बेस रेट ५ दशमलव ५० प्रतिशत रहेको जनाएको छ।
बैंकको हाल २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम, र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।