न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेन संगीतको धुन र अवार्डमा मस्त थियो। गार्डेनसँगै मस्त थिए विश्व प्रसिद्ध संगीतका हस्तीहरु।
यो संयोग जुरेको थियो संगीत क्षेत्रका लागि विश्वकै प्रमुख मानिने ग्रामीको ६०औँ सेरेमोनीमा। सो कार्यक्रममा सरिक हुने कलाकारमध्ये अवार्ड हात पारेका कतिपय कलाकार प्रसन्न मुद्रामा देखिन्थे भने कतिपयलाई नोमिनेशनमा परेर पनि अन्तिम स्ट्रोक हान्न नसकेकोमा दुःखेसो मानिरहेका टेलिभिजन स्किृनमा स्पष्ट देख्न सकिन्थ्यो।

कतिपय कलाकार आफ्नो प्रस्तुतिका लागि उत्सुक भइरहँदा कतिपय भने स्टेजमा आफ्नो जादु देखाउन मस्त थिए। दर्शकदिर्घामा समेत संगीतको अनुपम तरंग सञ्चार भइरहेको स्पष्ट झल्किन्थ्यो।
यी र यस्तै घटनाक्रमका बिचमा एक फरक खालको दृश्यसमेत देखियो यस पटकको ग्रामीमा। त्यो थियो कार्यक्रमको रेड कार्पेटमा सहभागी अधिकांस कलाकार तथा संगीतकर्मीले सेतो गुलाव पहिरिएका थिए।
यस्तो किन त?
फूलले यौन दुव्र्यवहार र महिला हिंसाको विरुद्ध एकताको संकेत गर्छ। सोहि कारण सेतो गुलावको फूल सिहुरिएर संगीतकर्मी तथा कलाकारहरु सो रुपमा कार्यक्रममा उपस्थित भएका हुन्।

यौन दुव्र्यवहार र महिला हिंसासँग सम्वन्धित विन्सटेन इफेक्ट र ह्यासट्याग मिटुलाई सहयोग गर्न वर्ष २०१८ को पहिलो दिनबाट हलिउडका कलाकारहरुले ह्यासट्याग टाइम्स अप मुभमेन्ट अभियान थालेका छन्। सोहि अभियानमा साथ पुगोस् भन्न कलाकार तथा संगीतकर्मीहरु यसरी जुटेका हुन्।
के भन्छन् संगीतकर्मी?
ग्रामी अवार्डमा सहभागि गायिका तथा गीतकार लिसा लोयवले यस्ता कार्यहरुको अन्त्यका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताइन्। उनले भनिन्,‘हामीसँग आवाज छ। मानिसहरु सुन्छन्। यसकारण यस्ता कार्यहरुको अन्त्यका लागि एकैसाथ हिड्यौँ भने त्यसको प्रभाव सबैतिर पर्छ।’
हामीले जस्तै सबैले अरुलाई आफ्नो कथा सुनाउने, सपोर्ट गर्ने तथा एक अर्कालाई सम्मान गर्ने बानीले यो मुद्दालाई सामान्य बनाउन सघाउ पुग्ने उनले तर्क गरिन्।

पछिल्लो समय चर्चित गीत ‘डेस्पासीटोका’ कि लेखक एरिका ऐण्डरले सबै महिलावादी हुनुपर्ने धारणा राखिन्। उनले पुरुष र महिलालाई शक्तिको समान वितरण गरिएमा मात्र वातावरण सहज हुने औंल्याइन्।
ह्यासट्याग टाइम्स अप मुभमेन्ट अभियानमा आफ्नो पनि समर्थन रहेको बताउँदै ऐण्डरले भनिन्,‘बढि माया र सद्भावका लागि बाटो सधैँ खुल्ला राख्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।