राजविराज– कीर्ते तमसुक गरी ऋण निकालेका सप्तरीको खडक नगरपालिका-१, सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक श्रवण कुमार साहविरुद्ध सहकारीमा तालाबन्दी गर्न पुगेका सेयर सदस्य र अध्यक्ष रामनारायण साहको समूहबीच आइतबार झडप भएको छ।
झडपका कारण कार्यालयमा तालाबन्दी गर्ने योजना तुहिएको छ। सेयर सदस्यले २/३ घण्टाअगाडि नै कार्यालयमा तालाबन्दी गर्ने विषयमा लिखित जानकारी गराएका थिए। जसमा वडाध्यक्षसहित ५ जना जनप्रतिनिधि समेतको हस्ताक्षर छ। अग्रिम जानकारी पाएका अध्यक्षले आफ्ना पक्षका महिलाहरु बोलाएर कार्यालयमा घेराबन्दी गराएपछि विवाद भएको र तालाबन्दी गर्ने योजना असफल भएको सेयर सदस्य उमेश प्रसाद चौधरीले बताए।
.jpg)
सोही क्रममा सामान्य झडप समेत भएको चौधरीले जानकारी दिए। ‘महिलाहरु प्रतिवाद गर्न आएपछि हामीले जबरजस्ती गरेनौं,’ उनले भने, ‘अव नगरपालिकामार्फत बाँकी प्रक्रिया अगाडि बढाउने सल्लाह भएको छ।’
संस्थाका व्यवस्थापक साहले २१ जना सेयर सदस्यको नामबाट कीर्ते तमसुक गरी ८५ लाख ४ हजार ५ सय ५२ रुपैयाँ ऋण निकालेर हिनामिना गरेका थिए। यसैगरी, असुलीबाट जम्मा भएको संस्थाकै ३ लाख ९४ हजार ६ सय १० रुपैयाँसमेत गरी कूल ८८ लाख ९९ हजार १ सय ६२ रुपैयाँ ८९ पैसा हिनामिना गरेको देखिएको छ।
२०६३ सालमै भएको उक्त घटना कतिपय सञ्चालक समितिकै सदस्यका कारण गुपचुप राखिएको थियो। तर, तोकिएको समयमा समेत साहले रकम फिर्ता नगरेपछि सेयर सदस्यले व्यवस्थापकको गलत क्रियाकलाप बाहिर ल्याएका हुन्।
‘संस्थामा देखिएको समस्या आन्तरिक रुपमै मिलाउन दबाब आएपछि त्यतिबेला हामी चुप लागेर बस्यौं। ठूलो रकम डुब्ने खतरा भएकाले चुप लागेर असुल गर्नुपर्ने बाध्यता पनि थियो,’ चौधरीले भने, ‘तर, तोकिएको भाकामा पनि रकम जम्मा नभएपछि अर्को विकल्प खोज्नुपर्ने बाध्यता भयो।’
अध्यक्षकै मिलेमतोको आरोप
सेयर सदस्यको नाममा ऋण लिएको तथा संस्थामा जम्मा भएको रकम आफूले हिनामिना गरेको साहले स्वीकारसमेत गरेका छन्। उनले २०७५ साउन १६ मा नै लिखित कागज गरी गत पुस मसान्तभित्र ब्याजसहित रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। लिखित काजगमा उनीसहित पिता आनन्दप्रसाद साह र पत्नी पिंकीकुमारी साह समेतले हस्ताक्षर गरेका छन्।
.jpg)
पिंकीकुमारी स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाको उपमेयरकी प्रत्यासि उम्मेदवार हुन्। उनले राष्ट्रिय जनतापार्टीबाट साइकल छापमा चुनाव लडेकी थिइन्। उनको नाममा समेत ९ लाख ५४ हजार ५ सय ५२ रुपैयाँ ऋण निकालिएको छ।
यस विषयमा खडक नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरलाई समेत यसअघि नै पत्राचार गरिएको विश्वनाथ मण्डलले बताए। साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरले २४ घण्टाभित्र व्यवस्थापक साहलाई निलम्बन गर्न पत्राचार गरेको थियो भने नगरपालिकाले १ महिनाका लागि निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो।
यद्यपि उनलाई हालसम्म कुनै किसिमको कारबाही गरिएको छैन। व्यवस्थापकको कीर्ते काममा अध्यक्षकै मिलेमतो रहेको कतिपय सेयर सदस्यहरुको आरोप छ।
सञ्चालक समितिका अध्यक्ष साहले भने गाउँकै मान्छे भएकाले रकम असुल हुने निश्चिन्त भएर कारबाही प्रक्रिया अघि नबढाएको बताउँदै आएका छन्। अधिकांश रकम असुल भएको १० देखि १५ लाख रुपैयाँ मात्रै असुल हुन बाकी रहेको उनको भनाइ छ। अध्यक्ष र व्यवस्थापक साह दुवैले संस्थाको बैंक स्टेटमेन्ट भने दिन मानेनन्।
साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरका प्रवन्धक विशाल तुलाधरले सहकारीका व्यवस्थापकको हिसाब/किताब दुरुस्त नभइसकेको पुष्टि गरेका छन्। ‘नगरपालिका र सेयर सदस्यहरुको बीचमा बसेर रकम चुक्ता गर्ने एक खालको सहमति बनेको थियो। सोही सहमतिअनुसार नगद र जग्गा गरी केही हिसाब मिलाएका छन्,’ उनले भने, ‘जग्गाकै विषयमा पनि विवाद छ। नगरपालिकाले छानबिन गरिरहेको छ, त्यसपछि बाँकी कुरा खुल्छ।’
र यो पनिः
सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी व्यवस्थापकले नै गरे सहकारीको ८९ लाख हिनामिना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।