काठमाडौं- पछिल्लो १५ दिनयता सुनको भाउ हरेक दिनजसो बढ्न थाल्यो। सुनको भाउ बढ्दै जाँदा बजारमा भने त्यसको उल्टो असर देखियो। अत्याधिक महँगो भएपछि कारोबार शून्य हुन थाल्यो।
सुनको कारोबारमा मन्दी देखिँदा वाणिज्य बैंकहरुले आयात गरेको करिब ६०० किलो सुन बैंकमा नै थुप्रिन थाल्यो भने नयाँ आयात रोकिएको छ। सुनको आयात रोकिँदा त्यसको सीधा असर सरकारी ढुकुटीमा पर्ने देखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुर सुन आयात नहुँदा राजस्व संकलनको लक्ष्य नै प्रभावित बनेको बताउँछन्। 'हामीले दैनिक औसतमा ९ करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्नुपर्नेमा यस्ता वस्तु आयात हुँदा आधा पनि संकलन हुन कठिनाइ भइरहेको छ,' ठाकुरले भने।
सुनको भाउ आकाशिएका कारण व्यवसायीहरुले ग्राहकसँग भएका पुराना सुन पनि खरिद गर्न छाडेका छन्। वाणिज्य बैंकहरुले आयात गर्न पाउने दैनिक २० किलो सुन बैंकहरुमै थुप्रिएको र बजारमा भएको सुन पनि बिक्री हुन छाडेकाले पुराना गहना खरिद गर्न छाडिएको व्यवसायीहरुले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य उपभोक्ताको खरिद क्षमताभन्दा सुनको भाउ धेरै भएकाले बजार शून्य जस्तै बनेको बताए। उनले सुन कारोबारको सिजन सुरु भइसक्दा पनि बजारमा चहलपहल नदेखिनुको मुख्य कारण मूल्य वृद्धि नै भएको उल्लेख गरे।
'हिन्दू नारीहरुको महान चाड तीजको समसयमा सुनको कारोबार उल्लेख्य हुने गरेको भए पनि यसपटक बजारमा चहलपहल छैन,' उनले भने, 'यसपटक सिजनमै सुन कारोबार शून्य हुने देखिन्छ।'
गएका वर्षहरुमा तीजको समयमा सुनको कारोबार दैनिक ४० किलोसम्म हुने गरेकोमा यसपटक १० किलो पनि नहुने व्यवसायीहरुको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।