काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पदमुक्त गरेका छन्। बिहीबार राती सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीको पेजमा स्टाटस लेख्दै यस्तो जानकारी गराइएको हो।
'माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गर्नुभएको छ,' पेजमा लेखिएको स्टाटसमा भनिएको छ, 'उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ।'
यसअघि उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो।
उच्च अदालत पाटनको वाणिज्य इजलासले मन्त्री खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै पक्राउ गर्न आदेश दिएको थियो।
कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतले ठहर गर्दै पक्राउ आदेश जारी गरेको थियो।
सोमबार उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको थियो।
कीर्तेमा संलग्न देखिएपछि तत्काल पक्राउ गर्न अदालतबाट आदेश जारी भएको उच्च अदालत पाटनका सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिएका थिए।
सोही आरोपमा अदालतले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।