काठमाडौं- साहित्यकार आन्विका गिरीद्वारा लिखित बालसाहित्य ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ सार्वजनिक भएका छन्। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा चार जना बालिकाले दुई पुस्तकलाई संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
सार्वजनिकीकरण कार्यक्रममा बोल्दै शिक्षाविद् केदारभक्त माथेमाले यी बाल पुस्तक अन्यभन्दा भिन्न र फरक भएको बताए। ‘उहाँले असाध्यै राम्रो पुस्तक लेख्नुएको छ, यस्तो कुरा अरु कसैले बाल साहित्यमा लेखेको छैन,’ माथेमाले भने, ‘अब अभिभावकको लागि पनि उहाँले अर्को पुस्तक लेख्न जरुरी छ।’
सांसद सरिता गिरीले पुस्तकमा बालबालिकाले आफ्नो समस्यालाई सहजै समाधान गर्ने उपाय भेट्टाउने बताइन्। ‘लेखन निकै सरल र सशक्त छ। लेखन र चित्रको सम्मिश्रणले पुस्तक निकै राम्रो बनेको छ,’ गिरीले भनिन्।
पुस्तकमाथि बोल्दै डा अरुणा उप्रेतीले आन्विकाको लेखकीय क्षमताले आफू प्रभावित भएको बताइन्। ‘सानीका ज्ञानी कुरा' पढेपछि मलाई ठूलो इर्श्या लाग्यो। यो विषयमा मैले किन लेखिनँ?’ उनले भनिन्, ‘यदि मैले लेखेको भए यस्तो सजिलो तरिकाले लेख्न सक्दिन थिएँ।’
लेखकले बालबालिकाप्रति हुने यौन हिंसालाई सरल शब्दमा पुस्तकमार्फत् बुझाउने कोसिस गरेको हुँदा स्कुलका पाठ्यक्रममै यसलाई समावेश गर्नुपर्ने डा उप्रेतीको भनाइ थियो।
दुई पुस्तकलाई साांग्रीला बुक्सले प्रकाशनमा ल्याएको हो।
आन्विकाका यसअघि ‘कम्युनिस्ट’ कथा संग्रह, ‘मान्छेको रङ’ उपन्यास र बालकथा संग्रह ‘हाम्रा पनि कुरा सुन्नुस्’ पुस्तक प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।