काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्सलाई आग्रह गरेका छन्। संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदास अलनाकवीसँगको शिष्टाचार भेटवार्तामा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको पनि बताए।
नेपालको सिंचाई, ऊर्जा, भौतिक संरचना विकास, पर्यटन, कृषि जस्ता क्षेत्रमा प्रतिस्पर्धी लगानीको उपयुक्त वातावरण भएको खतिवडाले उल्लेख गरेका छन्। अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयनको पिउने पानीलगायतको वस्तुलाई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने स्पष्ट पारे।
मन्त्री खतिवडाले नेपालमा पर्यटन वर्ष २०२० बनाउन लागिएको सन्दर्भमा अरबका अर्थमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै अरबी नागरिकलाई राजदूत मार्फत निमन्त्रणा सन्देश पठाई नेपाल भ्रमणमा आउन आग्रह गरेका छन्।
नेपालका अर्थमन्त्रीलाई संयुक्त अरब इमिरेट्सको भ्रमणको लागि त्यहाँका अर्थमन्त्रीको निमन्त्रणा रहेको बताउँदै राजदूत अलनाकवीले नेपालको हवाई सेवा तथा अन्य क्षेत्रमा लगानी आकर्षित गर्न दोहोरो कर मुक्ती सम्झौता गर्न आवश्यक भएको बताए। उनको जिज्ञासा प्रति मन्त्री खतिवडाले नेपाल त्यसका लागि छलफल गर्न खुल्ला भएको भन्दै प्रक्रिया अगाडि बढाउन तयार भएको स्पष्ट पारेका छन्।
राजदूतदले नेपाललाई आर्थिक साझेदारीको रुपमा व्यापार सहजीकरणको लागि विशेष सुविधा उपलब्ध गराउन तयार भएको जानकारी गराएका छन्। अरब सरकारले नेपालमा पाँचवटा सुख्खा बन्दरगाहा बनाउन इच्छा व्यक्त गरेको समेत राजदूतले धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।