मेयर-उपमेयर विवादले एक महिनादेखि बन्द कार्यालय अदालतको आदेशपछि खोलियो

अजय शाह | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 १८:२७:०० मा प्रकाशित

जनकपुर- धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवादले एक महिनादेखि बन्द कार्यालय आज उच्च अदालत जनकपुरको अन्तरिम आदेशपछि खोलिएको छ। उच्च अदालत जनकपुरको अन्तरिम आदेशपछि बुधबार दिउँसो कार्यालयको ताल्चा खोलिएको हो। 

आन्तरिक विवादले गर्दा नगरपालिकाका मेयर र उपमेयर दुवैले आआफ्नो पायक पर्ने ठाउँमा कार्यालय सञ्चालन गर्दै आएका थिए। मेयर रामज्ञान मण्डलले काम गर्ने वातावरण साबिकको बघचौडास्थित कार्यालय छाडेर स्थायी रुपमा हंसपुर चोकमा साउन ३ गतेदेखि छुट्टै कार्यालय सञ्चालन गर्दै आएका थिए। तर, उपमेयर रेणु झाले साबिककै कार्यालयमा काम गरिरहेकी थिइन्।

गत साता मेयर मण्डलले उपमेयरले सञ्चालन गर्दै आएको बचौडास्थित कार्यालयबाट जबरजस्ती कागजातहरु लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी घाइते भएका थिए।

घटनापश्चात् परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले तत्कालका लागि बघचौडास्थित साबिक कार्यालयमै काम गर्न गराउन अन्तरिम आदेश जारी गरेपछि बुधबारदेखि त्यहाँबाट नगरपालिकाको काम सुरु भएको हो। 

उच्च अदालत जनकपुरले आगामी भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो।

नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलिएको छ भने अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज सञ्चालनमा ल्याएका हुन् । तर, मेयर मण्डल कार्यालयमा उपस्थित भएका छैनन्। 

कार्यालयमा किन उपस्थित नहुनुभएको भनेर मेयर मण्डलसँग जिज्ञासा राख्दा उनले उच्च अदालतको आदेश भए पनि उपमेयरले आफूखुसी ताल्चा खालेको र आफ्ना मातहतका कर्मचारीलाई मात्र प्रवेश गर्न दिएको आरोप लगाए। 

उनले भने, ‘उपभोक्ता समितिले गरेका कार्यहरुको चेक भुक्तानी गर्न बाँकी रहेको अवस्थामा अदालतले तत्कालका लागि साबिककै स्थानमा कार्यालय सञ्चालन गर्न आदेश दिएको हो। त्यसमा सम्बन्धित कर्मचारी गएका छन्। मेयर उपस्थित हुनु कुनै जरुरी छैन।'

सम्बन्धित