काठमाडौं- नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा पछिल्लो समयमा देखापरेका समस्याको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले सगरमाथा र ८ हजारमाथिको हिमाल आरोहण नयाँ व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।
कार्यदलले ८ हजारमाथिको हिमाल आरोहण गर्नुभन्दा पहिले ६ हजार ५ सय मिटरमाथिको हिमाल आरोहण गर्नु पर्ने गरी मापदण्ड तय गर्न आवश्यक रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको छ।
आधारभूत साथै उच्च पर्वतारोहण तालिम लिएको, पर्वतारोहणलाई थप सुरक्षित र आरोहीलाई उच्च उचाई अनुकूलन, एक आरोहीले एक तालिमप्राप्त नेपाली जनशक्ति अनिवार्य लिएर जानुपर्ने मापदण्ड बनाउन समेत कार्यदलको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ को बसन्त ऋतुमा हिमाल आरोहणमा ट्राफिक जाम हुँदा आरोहीले ज्यान गुमाउन परेको भन्दै सरकारको निमयन कमजोर भएको भन्दै आलोचना भएको थियो।
युरोप भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बिबिसीको अन्तरवार्तामा हिमाल आरोहणकै विषयमा प्रश्न सामना गर्नु परेको थियो। त्यसपछि प्रधानमन्त्री तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा उनले अध्ययन कार्यदल गठन गरेका थिए। कार्यदलमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक, टानका अध्यक्ष, पर्वतारोहणका अध्यक्ष र विभागका निर्देशक सदस्य रहेका थिए।
कार्यदलले हिमाल आरोहणलाई सुरक्षित र मर्यादित बनाउन आरोहीले निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने, खोज, उद्घार तथा उपचारका लागि आवश्यक रकम सहितको बिमा अनिवार्य गर्नुपर्ने, आरोहीले आरोहण गरेको विस्तृत विवरणसहितको प्रतिवेदन एजेन्सीलाई उपलब्ध गराउनु पर्ने र हिमाल आरोहणका लागि आफ्नो क्षमता भए/नभएको बारे आत्मघोषणा गर्नुपर्ने सहितको सुझाव कार्यदलले दिएको छ।
यस्ता छन् सुझाव
-डोरी टाँग्ने कार्यमा सुधार गर्नुपर्ने
-मौसम प्रणालीको भरपर्दो पूर्वानुमान र त्यसमा प्रभावकारी समन्वय गर्ने
-आरोहण योजनामा आधार शिविरबाट हिँड्ने र शिखरसम्म पुग्ने अनुमानित समय स्पष्ट रुपमा पहिचान र उल्लेख गर्ने। मौसम खराबी वा अन्य कारणले आरोहण योजना परिवर्तन गर्नु परेमा अन्य आरोही वा गतिविधि समेतलाई ख्याल गरेर सम्बन्धित एजेन्सीको प्रतिनिधि र एकीकृत सम्पर्क अधिकृतको समूहको समन्वयमा मात्र गर्ने।
-आरोहण गरिने हिमालचुलीको शिखरसम्म डोरी पुग्ने अनुमानित समयका आधारमा आरोहण योजना तयार गर्ने। आरोहण योजना बनाउँदा एकीकृत सम्पर्क अधिकृत समूहसँग सम्पर्क गरिएको आधारमा दिने मान्यताका आधारमा गर्ने।
-एक दिनको आरोहण योजना गर्दा अधिकतम आरोही संख्या समान्यतया १ सय ५० भन्दा बढीको नगर्ने।
-८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण व्यवस्थापनको जिम्मा निश्चित संख्यामा आरोहण अभियान सञ्चालन गरेको एजेन्सी वा यस्तो एजेन्सी स्थापना भई आरोहणका कार्य व्यवस्थापन गर्न थालेको तेस्रो वर्ष पछि मात्र गर्न दिने प्रबन्ध गर्ने।
-पर्वतारोहणका कार्यमा संलग्न ट्रेकिङ एजेन्सीको सञ्चालक वा व्यवस्थापक पर्वतारोहणसम्बन्धी ज्ञान भएको हुनुपर्ने।
- ८ हजार मिटर माथिका हिमाल आरोहणका कार्य व्यवस्थापन गर्ने एजेन्सीले पर्यटकको खोजी, उद्धार र उपचार समेतको प्रबन्ध गर्नका लागि आवश्यक पर्ने निश्चित रकम बैंक ग्यारेन्टी राख्ने व्यवस्था लागू गर्ने।
-प्रति आरोही सगरमाथा हिमालका लागि न्यूनतम ३५ हजार र ८ हजार मिटरमाथिका अन्य हिमालका लागि न्यूनतम २० हजार अमेरिकी डलर एजेन्सीका नाममा पठाएको बैंक विवरण पेश गरेपछि मात्र अनुमति लिन सक्ने व्यवस्था गर्ने। यो व्यवस्था समयानुकूल २∕२ वर्षमा परिमार्जन गर्दै जाने।
-आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँग उद्धार सम्बन्धी व्यवस्थित योजना, तालिमप्राप्त उद्धार टिम र कम्तीमा एक जना यस सम्बन्धी डाक्टरको सेवा लिने भरपर्दो प्रबन्ध हुनुपर्ने।
-आरोहणका लागि प्रयोग गरिने औजार, अक्सिजन तथा अन्य बन्दोबस्तीका सामान अन्तर्राष्ट्रिय गुणस्तर चिन्हप्राप्त हुनुपर्ने।
-सम्बन्धित एजेन्सीले आफ्नो एजेन्सीमार्फत् गएका आरोहीका आरोहण सम्बन्धी गतिविधिहरु सम्बन्धित निकायहरुलाई निरन्तर रुपमा प्रवाह गर्नुपर्ने।
सरदार, पथप्रदर्शक र उचाइका कामदारका लागि बनाइनुपर्ने मापदण्ड
-नेपाली नागरिक मात्र सरदार, पथप्रर्दशक र आवश्यक उचाईका कामदार हुन पाउने।
-निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने।
-पर्वतारोहण सम्बन्धी ज्ञान भएको तथा तोकिएको संस्थाबाट पर्वतारोहण सम्बन्धी आधारभूत र उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने।
८ हजार मिटरभन्दा माथिका हिमालमा मार्गनिर्देशन गर्ने पथप्रर्दशकले नेपालभित्रको ७ हजारभन्दा माथिको हिमाल आरोहण गरेको हुनुपर्ने। तर सगरमाथा आरोहीका पथ प्रदर्शकले नेपालभित्रको ८ हजार मिटरको हिमाल अनिवार्य रुपमा आरोहण गरेको हुनुपर्ने।
पर्वतारोहण सम्बद्ध अन्य विषयहरू
-सगरमाथालगायत नेपालका ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्ने विदेशी आरोहीका लागि परिचयपत्र जारी गरी निशुल्क प्रवेशाज्ञाको व्यवस्था गर्ने तथा सद्भाव राजदूतको रुपमा लिने व्यवस्था गर्ने।
-पर्वतारोहणका कार्यमा एक दलमा कति कर्मचारी आवश्यक पर्छन्। सो को न्यूनतम संख्या एकिन गरी आरोही तथा कर्मचारीको संख्याको अनुपात मिलाएर आरोहण गतिविधि संचालन गर्ने प्रबन्ध गर्ने।
-कुनै एक बहुउद्देश्यीय पर्वतारोही दलका लागि पर्यटन विभाग, सूचना तथा सञ्चार, गृह, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नकायबाट खटिने गरेको पाइन्छ। यस किसिमको पद्धतिको अन्त्य गरी एउटा दलका लागि एक मात्र सम्पर्क अधिकृत रहने प्रबन्ध गर्ने।
-कुनै पनि हिमालको आधारशिविरमा एउटाभन्दा बढी हेलिप्याड निर्माण नगर्ने।
-आपतकालीन उद्धारभन्दा बाहेक कुनै पनि हेलीकप्टरले बेस क्याम्पभन्दा माथि उडान गर्न नपाउने व्यवस्था गर्ने।
अध्ययन प्रतिवेदनको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।