फाइल तस्बिर
काठमाडौं- संघीय संसद् अन्तर्गतको अर्थ समितिले पूँजीबजार र मुद्रा बजारको अध्ययन गर्न एक उपसमिति गठन गरेको छ। मुख्यतया, वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलालको अनुमतिपत्र दिने वा नदिने भन्ने विषयमा अध्ययन गरी सुझाव दिन उपसमिति गठन गरिएको हो।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले रामकुमारी झाँक्रीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा रामबाबु यादव, प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य छन्।
उपसमितिले हाल पूँजी बजार तथा मुद्रा बजारमा उठेका नयाँ विषय, देखिएका समस्यालगायतका विषयमा अध्ययन गरी २ महिनाभित्र समितिलाई प्रतिवेदन बुझाउनु पर्नेछ।
उपसमितिले बैंक तथा वित्तीय संस्थालाई धितोपत्र ब्रोकर लाईसेन्स दिने विषय, पूँजी बजारमा देखिएका पूँजीगत लाभकर र बजार विस्तार लगायतका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउने छ। त्यसैगरी मुद्रा बजारसँग सम्बन्धित राष्ट्र बैंकलगायत नियामक निकायले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रलाई गरेका परिपत्रका विषयमा पनि उपसमितिले अध्ययन गर्ने क्षेत्राधिकार पाएको छ।
समिति सभापति कृष्णप्रसाद दाहालले पुँजी बजार तथा मुद्रा बजारका नियामक निकायहरु धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्जलगायतले चालेका पछिल्ला कदममा अर्थ समितिले हस्तक्षेप गर्न खोजेको नभई त्यसलाई थप व्यवस्थित बनाउन खोजेको बताए। ‘हामीले राष्ट्र बैंक तथा धितोपत्र बोर्डले गरिरहेको काम रोक्न खोजेको पनि होइन। खुलाउन खोजेको पनि होइन। तर उनीहरूले लिने निर्णयले भोलि समस्या नहोस् भनेर विस्तृत अध्ययनका लागि उपसमिति गठन गरेको हौं,’ समिति सभापति दाहालले भने।
अर्थ समितिले पुँजीबजारको अहिलेको अवस्था र वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्रको ब्रोकर लाईसेन्स प्रदान गर्न भएका निर्णय र योजना सम्बन्धी अर्थसचिव राजन खनाल, नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुख चन्द्रसिंह साउदलाई बोलाएर छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।