बिस्केक- अत्यधिक चिसोका कारण किर्गिस्तानको राजधानीमा १५ जनाको मृत्यु भएको छ। जनवरी महिना भरीमा मृत्यु भएकाहरू सबै घरबिहीन नागरिक रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
शरीरको ताप एक्कासी कम हुने समस्या(हाइपोथर्मिया)का कारण उनीहरूको मृत्यु भएको पत्ता लागेको छ। घरबिहीन नागरिकहरूलाई सहयोगका लागि बिस्केकमा चार वटा शिविर स्थापना गरिएका छन्। ती शिविरहरूमा तातो खानेकुरा र प्रत्येक दिन चिकित्सकहरूको प्रत्यक्ष निगरानीको व्यवस्था गरिएको छ।
प्रहरीले राजधानी शहर बिस्केकमा २ सय ३९ जना मानिस घरबिहीन रहेको पाइएको जनाइएको छ। किर्गिस्तानमा यही जनवरी २६ देखि २९ सम्म अत्यधिक जाडोले सताउने पूर्वानुमान गरिएको छ। साथै चिसोबाट जोगिन उच्च सतर्कता अपनाउन पनि आह्वान गरिएको छ। शिक्षा मन्त्रालयले आगामि मंगलबारसम्म त्यहाँस्थित सबै विद्यालयहरु बन्द गर्ने घोषणा गरेको छ।
किर्गिस्तानको तापक्रम रातिमा माइनस २५ डिग्री सेल्सियस र दिउँसोमा माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।