निगमको ३२ वर्ष पुरानो 'कर्णाली' खरिद गर्न भारतीय र अमेरिकी कम्पनीको प्रस्ताव

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १८:४८:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निमग (नेपाल एयरलाइन्स)को ३२ वर्ष पुरानो जहाज 'कर्णाली' खरिद गर्न भारतीय र अमेरिकी कम्पनीले प्रस्ताव गरेका छन्। बोइङ–७५७ जहाज खरिदका लागि दुई वटा मात्र कम्पनीले कम्पनीले प्रस्ताव गरेका हुन्। 

भारतीय कम्पनी एभियोन सिस्टम र अमेरिकन कम्पनी फिनिम्क्सले विमान लिलामीको लागि प्रस्ताव गरेको नेपाल वायुसेवा निगमले जानकारी दिएको हो। निगमले जुन २६ अर्थात् असार ११ गते कर्णाली बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो।

टेन्डरमा जहाज खरिदका लागि दुई वटा मात्रै कम्पनीको प्रस्ताव परेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले पुष्टि गरे। विमान खरिदका लागि कति रकम प्रस्ताव गरेका छन् भन्ने विषय भने खुलाइएको छैन। विमान खरिदका लागि गरेको प्रस्तावित मूल्य अहिल्यै सार्वजनिक नगरिने तर मूल्यांकनपछि बाहिर ल्याउने उनको भनाइ छ। 

जहाज लिलामीका लागि नेपाल वायुसेवा निगमको सञ्चालक समितिले गत जेठमा नै स्वीकृत दिएको थियो। लामो समयदेखि बोइङ उडानलाई निरन्तरता दिने वा नदिने भने विषयमा निगम अन्योलमा थियो। अन्योलकै कारण बोइङ जहाज मलेसियाबाट मर्मत गरेर जनवरी १६ मा काठमाडौं ल्याइए पनि ग्राउन्डेड भएको थियो। बोर्डबाट जहाज लिलामीको अनुमति पाएलगत्तै निगमले ग्लोबल टेन्टरको सूचना प्रकाशन गरेको थियो।

निगमले झन्डै एक वर्ष अगाडि ’नाइन एनएसिए कलसाइन’ ’कर्णाली’ बोइङ बिक्री गर्नु परेको अवस्थामा कति मूल्यमा गर्न सकिन्छ भन्दै मूल्यांकन गर्ने फिन्टेक ग्लोबललाई कन्सल्ट्यान्टका रुपमा छनोट गरेको थियो। मूल्यांकनका लागि गरिएको ग्लोबल टेन्डरमा तीन वटा कम्पनीले आवेदन दिएका थिए। जसमा स्वीस कम्पनी फिन्टेक छनोटमा परेको थियो।

विमान बिक्रीका लागि कन्सल्ट्यान्ट कम्पनीले बुझाएको प्रतिवेदनमा बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर र कम्तीमा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने उल्लेख छ।

कन्सल्ट्यान्टले अध्ययन गरी बुझाएको रिपोर्टपछि निगमले सोही जहाजको मर्मत तथा संभारमा गरेको खर्च समेत थप गरी न्यूनतम मूल्य ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलरमा लिलामी गर्नका लागि लिलामीका लागि सूचना प्रकाशन गरेको थियो।

लिलामीका लागि सूचना आएको बोइङ पश्चिममा लन्डन, पेरिस र फ्र्यांकफर्ट तथा पूर्वी एसियामा चीनको सांघाई र जापानको ओशाकासम्म उडेको थियो। यो बोइङको नेपाली रजिस्ट्रेसन ‘अल्फा चार्ली ब्राभो’ हो । १६ बिजनेस तथा १ सय ७४ इकोनोमी श्रेणीसहित १ सय ९० सिट क्षमताको यो जहाज अक्टोबरदेखि उडानमा थिएन।

विमानको मर्मतसम्भार गर्न धेरै रकम खर्च गर्नु परेको तथा विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो। सन् १९८७ मा अमेरिकी बोइङ कम्पनीसँग नेपाल एयरलाइन्सले ऋणमा दुई वटा बोइङ खरिद गरिएको थियो। यीमध्ये गण्डकी नाम दिइएको बोइङ यसअघि नै १५ करोड रुपैयाँमा बिबी एयरवेजलाई बिक्री गरिसकेको छ। 

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडान गर्ने दुई वटा एयरबस र दुई वटा वाइडबडी जहाज छन्।