काठमाडौं। दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको सन् २०२८ को संस्करण पनि अमेरिकामा आयोजना हुने भएको छ।
दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले प्रतियोगिता अमेरिकामा आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। प्रतियोगिता सन् २०२८ जुन ९ देखि जुलाई ९ सम्म सञ्चालन हुनेछ। अघिल्लो संस्करणमा जस्तै यसपटक पनि १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
अमेरिका तेस्रोपटक कोपा अमेरिकाको आयोजक बन्न लागेको हो। यसअघि सन् २०१६ र २०२४ मा पनि प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो।a
प्रतियोगितामा कन्मेबोलका १० र उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) का ६ टोली सहभागी हुनेछन्। कन्काकाफका ६ टोलीको टुंगो सन् २०२७ को गोल्डकपको नतिजाका आधारमा लाग्नेछ।
अमेरिकामा प्रतियोगिता आयोजना गर्नुका पछाडि आर्थिक, व्यावसायिक र पूर्वाधारसम्बन्धी कारण रहेको बताइएको छ। विश्वकप आयोजनाका लागि पछिल्लो समय अमेरिकाका विभिन्न सहरका रंगशाला स्तरोन्नति र आधुनिकीकरण गरिएका छन्। त्यसैले अर्को ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तयार रहेको छ।
४९औं संस्करणको आयोजक बन्न सुरुमा इक्वेडरले पनि चासो देखाएको थियो। तर‚ अन्ततः अमेरिकाले आयोजनाको जिम्मेवारी पाएको हो।
अमेरिकामा आयोजना भएका पछिल्ला दुई संस्करण अर्जेन्टिनाका लागि सफल रहेका छन्। सन् २०१६ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२४ मा उपाधि जितेको थियो।
सन् २०२४ को फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए। चोटका कारण कप्तान लिओनल मेसीले भने बेन्चमा बसेर टोलीको जित हेर्नुपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।