काठमाडौं प्रशासनलाई रेडक्रसको अटेरी : अनियमतिताको छानबिन हुँदाहुँदै किन बोलाइयो साधारणसभा?

दोस्रोपटक बोलाइएको साधारणसभालाई प्रशासनको रोक
नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 ११:२८:०० मा प्रकाशित

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारणसभा स्थगित गर्न यसअघि दिएको निर्देशनलाई नेपाल रेडक्रसले अटेर गरेको छ। 

बैसाख २३ देखि २५ सम्म धरानमा तोकिएको साधारणसभा स्थगित गर्न निर्देशन दिएको प्रशासनलाई बेवास्ता गर्दै रेडक्रसले पुन: बनेपामा साधारणसभा गर्न लागेको थियो। रेडक्रसको वर्तमान कार्यसमितिको वैधानिकताको विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमितिले पुनः साधारण सभा बोलाएको हो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रशासनको पत्रको बेवास्ता गर्ने संस्थालाई किन कारबाही नगर्ने भन्दै आइतबार पत्र काटेको छ।

प्रशासनको पत्रमा 'भ्रष्टाचार र अनियमितता गरेको सम्बन्धमा उजुरी परी छानबिन भइरहेको अवस्थामा अटेर गरी पुन: साधारणसभा बोलाई निर्देशन पालना नगरेकोले संस्था दर्ता ऐन २०३४ को दफा १२ को उपदफा ४ बमोजिम किन कारबाही नगर्ने?’ पत्रमा भनिएको छ।

मंगलबारदेखि बनेपामा गर्न लागिएको साधारणसभा स्थगित गर्न प्रशासनले रेडक्रसलाई पत्र काटेको हो। थापा नेतृत्वको कार्यसमितिलाई प्रशासनले खारेज गरेपछि नयाँ तदर्थ समिति गठन गरिएको थियो। 

नयाँ कार्यासमितिको विरुद्धमा थापाले मुद्दा दायर गरेपछि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। अन्तरिम आदेशको आधारमा थापा नेतृत्वको कार्यसमितिले पुनः निरन्तरता पाएको छ। 

अन्तिम सुनुवाइको पेशी सर्वोच्चमा पटकपटक सर्दै आएको छ। पदाधिकारीसहित विभिन्न कर्मचारी भ्रष्टाचारमा मुछिएको उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र र गृह मन्त्रालयमा परेको छ।

सम्बन्धित