काठमाडौं– फागुन ११ गतेको प्रदर्शन मिति तय गरिएको 'पञ्चेबाजा' फिल्मको ट्रेलर सार्वजनिक भएको छ।
फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरेको हो। फिल्म युनिटले ३ मिनेट लामो ट्रेलरका साथै यसअघि नै आएको 'घिनघिन मादल' बोल गीतको रिमेक भिडियो समेत सार्वजनिक गर्यो।
ट्रेलरमा जस्मिनलाई पाउन सौगात र कर्माको ठूलै घम्साघम्सी देख्न सकिन्छ।
फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बाँस्तोला लगायतका कलाकारहरुको अभिनय छ। कास्की जिल्लाको एक विकट स्थानमा छायांकन गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता कर्माले 'पञ्चेबाजा'को कथावस्तु निकै मन परेर काम गरेको बताए। त्यस्तै, अर्का अभिनेता सौगात मल्लले फिल्म निकै राम्रो बनेको भन्दै दर्शकले पञ्चेबाजामा केही नयाँपन पाउने दाबी गरे।

यस्तै, फिल्मकी नायिका जस्मिन श्रेष्ठले फिल्म धेरै मिहिनेतका साथ बनेको र दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको बताइन्।
प्रदीप भारद्वाजको लेखनमा बनेको फिल्मको छायांकन हरि घलेले गरेका छन् भने कालीप्रसाद बाँस्कोटा र विकास चौधरीले संगीत दिएका छन्। फिल्मको सम्पादन दीर्घ खड्काले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।