काठमाडौं– गुन्डा नाइके समिरमानसिंह बस्नेत नख्खु कारागार चलान भएका छन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न बस्नेतसहित ९ जना जेल चलान भएका छन्। २ जनालाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले मंगलबार हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित ९ जनालाई जेल चलानको आदेश दिएको हो।
घटनामा अन्जानबश प्रयोग भएका राजकुमार साह रौनियार र श्याम गुप्ता धरौटीमा छुटेका छन्।
९ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालतका न्यायधीश बाबुकाजी बाँनियाको इजलाशले आदेश सुनाएको हो।
हत्यामा संलग्न संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी, बसन्त थेवे र धनराज योङहाङलाई जेल चलान भएका हुन्।
बस्नेतलाई नख्खु कारागार चलान गरिएकोमा अन्य अभियुक्तलाई डिल्लिबजार कारागार चलानको आदेश भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। सबैलाई एउटै कारागारमा राख्दा उनीहरुले अर्काे अपराध योजना बनाउन सक्ने भएकाले छुट्टाछुट्टै कारागारमा पठाइएको हो।
उनीहरुविरुद्ध ३० वर्ष कैद सजाय माग गर्दै कर्तव्य ज्यान, हातहतियार तथा खरखजना र संगठित अपराध मुद्दा दायर गरेको थियो।
घटनामा संलग्न श्याम बहादुर गुरुङ गुम्बे मंगलबार मात्र पक्राउ परेका छन्। घटनामा संलग्न मनोज पुन, गंगा लिङदेन, रोशन बुढाथोकी र लोप्साङ लामा लगायत पनि फरार छन्।
हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा निर्माण व्यवसायी गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका छन्। डाँफे कन्ट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।