काठमाडौं- भारतले वीरगन्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ। रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल-भारत सीमा टोलीका प्रमुख लगायतलाई विपक्षी बनाइएको छ।
पुराना पिल्लरको ठाउँमा नयाँ पिल्लर राख्दा नेपालतर्फ गाडिएकाले उक्त सीमा पिल्लर गाड्ने कार्य रोक्न माग गरिएको छ।
सुगौली सन्धि र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगन्ज महानगरपालिका १ छपकैया क्षेत्रको सिर्सिया खोलाधार तर्फको लगभग ३ सय मिटर नेपालको जमिन मिची मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको दाबी रिटमा गरिएको छ।
सुगौली सन्धिविपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ। सन्धि अनुसार निर्माण भएका जंगे पिल्लरभन्दा फरक प्रकृतिले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग रिटमा गरिएको छ।
पहिलो सुनुवाइको पेशी बुधबारका लागि तोकिएको छ। वीरगन्जको छपकैयामा सीमा स्तम्भ गाड्ने क्रममा आफूहरुको ५० बिघा जग्गा मिचिएको भन्दै स्थानीय बासिन्दाले विरोधमा उत्रिएका छन्। तर नापी विभागले विज्ञप्ति जारी गरी नेपाली भूमि नमिचिएको दाबी गरेको छ।
यस्तो छ रिट-



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।