काठमाडौं– स्वतन्त्र सांसद हृदयश त्रिपाठीले क्याबिनेटले केही नागरिकता खारेज गरेको समाचार आए पनि नागरिकता दिनेलाई कारबाही गरिएको वा नगरिएको विषयमा जवाफ माग गरेका छन्।
'केही व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र खारेज गरेको समाचार आयो', उनले भने, 'नागरिकता त खारेज गरियो तर जसले दिएका छन्, तिनमाथि कारबाही भयो कि भएन? कतिजनामाथि कारबाही भयो?'
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै त्रिपाठीले खारेज गरिएका नागरिकता बजारबाट किनेको नागरिकता नभएकोले दिने व्यक्तिमाथि कारबाहीको माग गरे।
'नागरिकता लिने व्यक्तिले आफैंले निर्माण गरेको र हस्ताक्षर गरेको नागरिकता होइन होला। त्यो प्रमाणपत्र दिने अधिकारीहरु, जसले दिएका छन्। त्यसमाथि सरकारले केके कारबाही गर्यो। त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रहित हुनेथियौं', उनले भने, 'किनभने, नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने पदाधिकारीलाई पनि कारबाहीको व्यवस्था छ। हामीले पटकपटक सुन्छौं, लिनेमाथि कारबाही हुन्छ तर दिनेमाथि कारबाही हुँदैन। कारण के हो? तिनको नाम पनि आउँदैन। कारण के? ती कसैका नातेदार पर्छन् कि, आफन्त पर्छन् कि, कि हाम्रो राज्यको घोषित नीति नै यही हो?'
गत साउन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित आइतरबारको पत्रकार सम्मेलनमा सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आठ जना भारतीयले लिएको नेपाली नागरिकता खारेज गरेको बताएका थिए। त्यसअघि पनि गलत विवरण पेश गरी नागरिकता लिएका केही व्यक्तिको नागरिकता खारेज भएका थिए।
सम्बन्धितः
झुठो विवरण पेस गरी लिइएका ८ वटा नागरिकता रद्द, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
नाम मिल्ने व्यक्तिको नागरिकता खारेज भएपछि राजपा नेता महतोलाई तनाव, संसदमा आपत्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।