काठमाडौं– राजपाका सांसद राजेन्द्र महतोले सरकारको निर्णय सुनाउन क्रममा विस्तृत विवरण नदिई 'राजेन्द्र महतो' लगायत ८ जनाको नेपाली नागरिकता खारेज गरिएको मात्रै भनेर भ्रमको खेती गरिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा सरकारले कुन नियत राखेको हो भन्दै प्रश्न उठाए। 'भ्रमको खेती गरेर सरकारले के गर्न खोजेको हो?', उनले भने, 'सरकारको नियतमाथि नै प्रश्न उठेको छ।'
गत साउन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित आइतरबारको पत्रकार सम्मेलनमा सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आठ जना भारतीयले लिएको नेपाली नागरिकता खारेज गरेको बताएका थिए। त्यसमा राजेन्द्र महतो नाम पनि परेको थियो। तर कतिपय सञ्चार माध्यममा राजपा नेता महतोलाई जोडेर समाचार प्रशारित गरेका थिए।
राज्यको तर्फबाट मानहानी र गलत प्रचार प्रसार गरिएको महतोले बताए।
'भोलि कृष्णबहादुर महराचाहिँ महाडकैत र उहाँ आजीवन काराबास भए भनेर समाचार आएकोमा सभामुख महरा महाडकैत र आजीवन काराबास भन्ने समाचार आयो भने के हुन्छ?', उनले प्रश्न गरे।
उनले यो विषयमा सञ्चार माध्यम पनि गैरजिम्मेवार भएको बताए।
सरकारले भ्रम फैलाएकोमा माफी माग्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।