बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) विज्ञ टोलीले भेट गरेको छ। मुख्यमन्त्री पोखरेलसँगको भेटमा बिआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिनसक्ने फाइदाबारे छलफल गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पनेखरेलले प्रदेश ५ को विशेषता र सम्भावना तथा गौतम बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै बिआरआईमार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताए। उनले नेपालमा बिआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको जनाए।
उनले केरुङ-काठमाडौं-लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दू हुन सक्नेमा जोड दिए। उनले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसरबारे पनि विस्तृत अध्ययन गर्नुपर्नेमा जोड दिए।
चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लिउ वी डोउको नेतृत्वमा आएको ८ सदस्यीय टोलीले बिआरआईमार्फत गर्न सकिने काम र सम्भावनाबारे मुख्मयन्त्री पोखरेलसँग छलफल गरेको थियो।
प्राध्यापक लिउ वी डोउले मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल भएको बताए। बिआरआई परियोजनामार्फत चीनले आफूसँगै छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।