काठमाडौं- विशेष अदालतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय आवास र वैदेशिक रोजगार विभागका कर्मचारी तथा मेनपावर व्यवसायी गरी ४७ जनालाई सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका सबै आरोपितलाई विशेषले सोमबार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला सुनाएको हो।
विशेषले विभागका ३३ र राष्ट्रिय आवासका १४ कर्मचारीलाई सफाइ दिएको हो।
अख्तियारले राष्ट्रिय आवासका तत्कालीन महाप्रबन्धकद्वय नरेश चौधरी, कृष्णदेव चौधरी, योजना प्रमुख नागेश्वरप्रसाद चौधरी, कायममुकायम प्रमुख नारायणप्रसाद घिमिरे, वरिष्ठ सहायक रत्नबहादुर थापा, हरिकृष्ण घिमिरे, सब-इञ्जिनियर उमेशप्रसाद साह, नायव सुब्बा खडानन्द तिवारी, दाउन्ने देवी गाविसका सचिव केशव तिवारी र गाविस सहायक विष्णुप्रसाद अर्यालको संलग्नतामा ११ करोड भ्रष्टाचार गरेको दाबी गर्दै ०७१ चैत २८ मा मुद्दा दायर गरेको थियो।
विशेषका ६ न्यायाधीशको इजलासले उनीहरुलाई निर्दोष ठहर गर्ने फैसला सुनाएको हो।
वैदेशिक रोजगार विभागका निर्देशकसहित ३३ जनालाई सफाइ
विशेषले वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने क्रममा रकम लिँदै भ्रष्टाचार गरेको आरोप लागेका विभागका तत्कालीन निर्देशक रामजीप्रसाद बरालसहित ३३ जनालाई पनि सफाइ दिएको छ।
न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले अभियोगमा संलग्न सबैलाई सफाइ दिएको हो।
अख्तियारले ०७२ असार ११ गते विभागका निर्देशकसहित अन्य कर्मचारी विरुद्ध विशेषमा अभियोगपत्र दायर गरेको थियो। उक्त भ्रष्टाचारमा बरालसहित विभागका ९ जना कर्मचारी र बाँकी विभिन्न मेनपावर कम्पनीका प्रतिनिधि मुछिएका थिए।
विशेषले दुई वर्षपछि उनीहरुलाई पुष्टि गर्ने प्रमाण अख्तियारले अदालतमा पेश गर्न नसकेको भन्दै सफाई दिने फैसला सुनाएको हो।
रोजगारदाता कम्पनीले पठाएका विवरणहरु हेरफेर गरिएका एवं सच्याइएका गलत कागजातहरुबाट श्रम स्वीकृति दिएको पाइएको भन्दै अख्तियारले विभागका उपसचिवसहित १२ कर्मचारी, १९ मेनपावर व्यवसायी, कर्मचारीसम्म घुस पुर्याउने एक बिचौलिया र नक्कली कागजात छाप्ने छापाखाना सञ्चालक विरुद्ध मुद्दा दायर गरेको थियो।
नक्कली कागजात बनाएर श्रम स्वीकृति दिनेमा संलग्न कर्मचारीसहित ३३ जना विरुद्ध अख्तियारले ३३ लाख ७३ हजार ५ सय रुपैयाँ बिगो मागदाबी गरेको थियो।
नक्कली कागजात बनाएर श्रम स्वीकृति दिएको भन्दै अख्तियारले विभागका उपसचिव रामजीप्रसाद बराल, शाखा अधिकृतहरु सिद्धराज चटौत, गम्भीरसिंह विष्ट, पृथुराज तिवारी, तीर्थराज पौडेल, लक्ष्मणप्रसाद श्रेष्ठ, दामोदर दाहाल, जयराम नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यस्तै, विभागमा कार्यरत सुब्बाहरु कविराज उपाध्याय, पदमबहादुर शाही, भाषा अनुवादक सदरे आलम, अर्का अनुवादक अब्दुल सवुर विरुद्ध पनि मिलेमतोमा नक्कली कागजात बनाएर श्रम स्वीकृति दिनेमा संलग्न भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
श्रम स्वीकृति दिन नक्कली कागजात बनाएर मतियारको काम गरेको भन्दै अख्तियारले ललितपुरस्थित नेपाल निकप्रेसका सञ्चालक विरुद्ध १४ लाख ९९ हजार ५ सय रुपैयाँ बिगो मागदाबी गरेको थियो।
अख्तियारले विदेशबाट रोजगारदाता कम्पनीले पठाएको विवरण हेरफेर गरेर नक्कली कागजात बनाई कामदार पठाएको भन्दै जस्मिन ओभरसिज प्रालिका रामहरि भण्डारी, युनाइटेड इन्टरनेसनल प्रालिका जयराम खपांगी र बुद्धिबहादुर तामाङ, न्यु ग्लोबल म्यानपावरका निशान्तराज पौडेल, पश्चिम नेपाल ओभरसिजका ईश्वर केसी, अलकोर्निस ओभरसिजका आशिष शर्मा र राजेन्द्र अधिकारी, आर एन्ड आर जब ट्याकरका किशोर तामाङ विरुद्ध नक्कली कागजात बनाएर कामदारलाई ठगी गरेको दाबी गरेको थियो।
यसैगरी नक्कली कागजात देखाएर श्रम स्वीकृति लिई ठगी गरेर कामदार पठाउनेहरु एसिया लिंक सर्भिसका मिलन कटेल, लालधनुष इन्टरनेसनल सर्भिसका विष्णुप्रसाद बस्याल, ग्रेटर भिजन ओभरसिजका प्रमोद घर्ती, अक्टोपस ओभरसिजका अर्जुन रिजाल, युनाइटेड एचआर सोलुसनका विशाल पराजुली, गुरुङ मगर सर्भिसका सञ्जीवकुमार पुलामी, इन्प्किनिटी रिकुरटमेन्टका चुडामणि पोखरेल, स्किल्द ह्युमन रिसोर्सका मीनबहादुर तामाङ, मोभिरा एहआर सर्भिसका बेनुकुमार राई, सेफल्याणन्ड ओभरसिजका रामकृष्ण लामिछाने, डिजाइन इम्प्लोइमेन्टका सुरेन्द्रबहादुर राई र रिलायन्स नेपाल इन्टरनेसनलका वीरबहादुर पुर्जामगर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
अख्तियारले अनुसन्धानको सिलसिलामा ४७ वटा म्यानपावर कम्पनीहरुले कामदारहरुलाई रोजगारमा पठाउन वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिँदा नक्कली तथा रोजगारदाता कम्पनीबाट प्राप्त कागजहरुमा विवरण (तलब, काम गर्ने समय, कामदार संख्या, कामको प्रकृति जस्ता महत्वपूर्ण विवरणहरु) सच्याई आफू अनुकूल विवरण हेरफेर गरेर लगत कागजहरु पेश गरेर स्वीकृति लिएको पाइएको दाबी आरोपपत्रमा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।