काठमाडौं- विशेष अदालतले राष्ट्रिय आवासको जग्गा बिक्रीमा भ्रष्टाचारको आरोप लागेका महाप्रबन्धकद्वयसहित सबै १४ जनालाई सफाइ दिने फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलेको इजलासले सबैलाई सफाइ दिने फैसला सुनाएको हो।
सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी (तत्कालीन ग्रामीण आवास)को जग्गा बेचेर करोडौं भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन दुई जना महाप्रबन्धकसहित १४ जना विरुद्ध २०७१ चैत २८ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। निजी लाभका लागि सरकारी सम्पत्तिमा नोक्सानी पुर्याएको दाबीसहित सजाय माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
अख्तियारले कम्पनीका तत्कालीन महाप्रबन्धकद्वय नरेश चौधरी, कृष्णदेव चौधरी, योजना प्रमुख नागेश्वरप्रसाद चौधरी, कायममुकायम प्रमुख नारायणप्रसाद घिमिरे, वरिष्ठ सहायक रत्नबहादुर थापा, हरिकृष्ण घिमिरे, सब-इञ्जिनियर उमेशप्रसाद साह, नायव सुब्बा खडानन्द तिवारी, दाउन्ने देवी गाउँ विकास समितिका सचिव केशव तिवारी र गाविस सहायक विष्णुप्रसाद अर्यालको संलग्न रहेको दाबी गरेको थियो।
नक्कली कागजात र जोतभोतकर्ता खडा गरी जग्गा बेचेको देखाएर रकम बुझेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको थियो। नवलपरासी जिल्लाको दाउन्ने देवी गाविस अन्तर्गत बर्दघाटबाट त्रिवेणी जाने पक्की बाटोसँग जोडिएको जग्गा बिक्री गरी राज्यलाई ११ करोड तीन लाख १० हजार रुपैयाँ नोक्सान पुर्या एको अख्तियारको दाबी थियो।
स्थानीय जोतभोतकर्ता रामवृक्ष केवट, शोभाकर भुसाल, किंकरप्रसाद दुबे र अशोककुमार चौधरीलाई नक्कली जग्गाधनी भएको दाबी अख्तियारको आरोपपत्रमा उल्लेख थियो। तर, विशेषले अख्तियारको दाबी प्रमाणित गर्ने आधार नभएको भन्दै ३ वर्षपछि उनीहरुलाई सफाइ दिएको हो।
महाप्रबन्धक नरेश चौधरी, सब-इञ्जिनियर साह, नासु तिवारी, गाविस सहायक अर्याल, गाविस सचिव तिवारी र नक्कली रूपमा खडा गरिएका जोताहा केवट र भुसालले जनही ६८ लाख ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा दाबी गरिएको थियो ।
यस्तै, योजना प्रमुख नागेश्वर चौधरी, वरिष्ठ सहायक थापा र घिमिरे विरुद्ध जनही एक करोड ५२ लाख ११ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी थियो। अर्का महाप्रबन्धक कृष्णदेव चौधरी, कामु प्रमुख घिमिरे, नक्कली जोताहा रहेका दुवे र अशोक चौधरीले जनही ८३ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।