काठमाडौँ- निर्वाचन आयोग यतिबेला राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेको छ। आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए। उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ।
आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ।
आइतबार मतदाता नामावली प्रकाशन गरेको निर्वाचन आयोगले माघ १० गते उम्मेदवारको सूची प्रकाशन गर्नेछ। माघ ११ र १२ गते सूचीमाथि दाबी विरोधको समय दिइएको छ।
यस्तै १३ गते उम्मेदवारको मनोनयन पत्र र उजुरी निवेदनमाथि जाँचबुझ गरी माघ १४ गते उम्मेद्वारको नामावली प्रकाशन गर्नेछ। उम्मेदवारको नाम फिर्ता लिने समय माघ १५ गतेलाई तोकिएको छ।
माघ १५ गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गर्नेछ।
राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।