वुटवल– रुपन्देहीको देवदहका फर्निचर व्यवसायी बसन्त(बलु) पौडेलको हत्यामा संलग्न सुटरकै नाम पत्ता लगाउन प्रहरी असफल भएको छ। विवेक नाम गरेका व्यक्तिले गोली हानेको भनिएपछि उनी को हुन् र थर के हो भन्नेसम्म पत्ता लगाउन सकेको छैन। घटनामा संलग्न अन्य २ जनालाई भने प्रहरीले पक्राउ गरेको छ।
एक अभियुक्तलाई मात्र ३ लाख ५० हजार रुपैयाँको ‘सुपारी’ दिएको खुलेको छ। घटनामा संलग्न सुटर महेन्द्र भन्ने महिनारायण चौधरीलाई गुन्डा नाइके मनोज पुनले ३ लाख ५० हजार रुपैयाँ दिएको प्रहरीले जनाएको छ। त्यसमध्ये २ लाख ५० हजार उनीहरुले लिइसकेका थिए। १ लाख रुपैयाँ लिन बाँकी थियो।
चौधरीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पुनसँग लिएको पैसामध्ये ९९ हजार रुपैयाँ बरामद समेत गरिएको सिआईबीका एसएसपी घनश्याम अर्यालले बताए।
अभियुक्त चौधरी विगतमा पनि हातहतियार मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्।
तीन वटा पेस्तोलको प्रयोग
पौडेलको हत्यामा प्रयोग भएका तीन वटा पेस्तोल समेत प्रहरीले बरामद गरेको छ। ती पेस्तोल नवलपरासी सुनवलका पदम चौधरीले आफ्नो बारीमा लगेर लुकाएका थिए। १४ राउण्ड गोली र ३ वटा पेस्तोल प्रहरीले बरामद गरेको छ। एउटा पेस्तोल नचलेकोमा अर्काे पेस्तोलबाट गोली हान्न उनीहरुले तीन वटा पेस्तोल लिएर गएको प्रहरीले जनाएको छ। पौडेलको बारेमा सुराकी गर्ने, मोटरसाइकल र हतियारको व्यवस्थापन गर्ने जिम्मेवारी उनले पाएका थिए। उनी अपहरण मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्। बरामद पेस्तोल गत वर्ष दुर्गा तिवारी हत्यामा समेत प्रयोग भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए।
व्यक्तिगत रिसिइवी र अरुलाई धम्काएर पैसा असुल्ने योजनासहित उनले गोली हानेको प्रहरी निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।