काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको न्यायिक प्रणालीलाई भीड र सडकको जुलुसले प्रभावित पार्न खोजेको आरोप टिप्पणी गरेका छन्।
प्रधानन्यायाधीश पराजुलीले सडकमा नारा लगाउँदैमा न्याय प्रभावित नहुने भएकाले सचेत रहन चेतावनी समेत दिए। आइतबार प्रेस काउन्सिल नेपालको अनलाइनबाटै आफ्ना उजुरी, गुनासा दर्ता गर्नसक्ने प्रणाली शुभारम्भ गर्दै पराजुलीले यस्तो बताएका हुन्।
‘न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषयलाई रत्नपार्क, मण्डला र सडकबाट निर्णय हुने हो भने संविधान बमोजिमका संस्थाहरुको अन्त्य त्यही बिन्दुबाट हुन्छ’, पराजुलीले भने, ‘अदालत वा न्यायाधीश आलोचना गर्नै नहुने त्यस्तो संस्था वा व्यक्ति होइन। तर, आलोचना सत्य-तथ्यमा आधारित हुनुपर्छ।’
आफूले पटकपटक सत्य र तथ्यमा आधारित भएर आलोचना गर्न आग्रह गर्दै आएको भन्दै पराजुलीले सडकमा न्यायपालिका विरुद्ध नारा लगाउनु अदालतलाई गिराउने प्रयास भएको टिप्पणी गरे।
न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचनाहरु सुन्नुपरेको भन्दै उनले आलोचनाले न्यायको नियमित प्रवाहमा असर पुर्यायउने कुरा ख्याल गर्न समेत आग्रह गरे।
‘न्यायाधीशको निष्पक्षता, क्षमता र अनुचित टीका-टिप्पणी गर्नु सर्वसाधारण जनताको नजरमा अदालतलाई गिराउने कार्य हो’, पराजुलीले भने, ‘त्यसले न्यायपूर्ण समाज निर्माणको गतिलाई अवरोध सिर्जना गर्छ। न्यायपालिकालाई होच्याएर, विवादमा मुछेर जनसाधारणलाई अदालतप्रति अनास्था उत्पन्न हुने प्रयास कसैले गर्न पाउँदैन।’
निष्पक्ष रुपमा न्याय दिन नसक्ने अवस्थामा पुर्याइयो भने त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्रै नभई सिंगो राष्ट्रले भोग्नुपर्ने चेतावनी समेत पराजुलीले दिए।
सञ्चारमाध्यममा प्रकाशित समाचार कति लाइक वा सेयर भयो भनेर हेर्नुभन्दा पनि कति सत्य छ भन्ने कुराको आत्ममूल्यांकन हुन सके मात्र यसको विश्वसनीयता कायम हुनसक्ने भन्दै पराजुलीले सत्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गरे।
प्रधानन्यायाधीश पराजुलीले मिडियाबाट विचाराधीन रहेका कतिपय मुद्दालाई प्रभावित गर्ने गरी समाचारहरु प्रकाशन–प्रशारण हुने गरेको आरोप लगाए। प्रेस काउन्सिल र न्यायालयको काम उस्तै भन्दै पराजुलीले चनाखो भएर बस्नुपर्ने अवस्था आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।