काठमाडौं- सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने अनुमति दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चिनियाँको ल्हासास्थित कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो।
६४ अर्ब नेपाली रुपैँयामा निर्माण गर्ने सो पार्कको डिपिआर तयार पार्ने स्वीकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।
बोर्डले विराटनगरमा लजिस्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ। त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिस्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।
तमोर जलाशाययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिन भित्र चाइना कन्सट्रक्सन पावर र जापान तथा कतारको ज्वाइन्ट भेन्चरमा सञ्चालित एक कम्पनीलाई प्रस्ताव पेस गर्न पनि आह्वान गरिएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।