काठमाडौं– कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ।
मंगलबार भएको खेलमा कर्णाली १९ रनले विजयी भएको हो। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो।
जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। उनले १७ बलमा दुई छक्का प्रहार गरे। मोइन अलीले २२ बलमा १९ रन बनाए भने कप्तान हरमित सिंहले १९ रन जोडे। जेम्स निसमले १५ रन बनाए।
कर्णालीका हुसेन तलत र उन्निश ठाकुरीले समान तीन विकेट लिए। तलतले चार ओभरमा २६ रन खर्चिए भने ठाकुरीले चार ओभरमा २२ रन दिँदै तीन विकेट हात पारे। नन्दन यादवले २.३ ओभरमा १३ रन खर्चेर दुई विकेट लिए। सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो।
कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बलमा तीन छक्का प्रहार गरे। यी दुई ब्याटरले कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।
दीपक डुम्रे १३‚ गुल्सन झा १२ र नन्दन यादवले नौ रन बनाए। कर्णालीको सुरुआत भने राम्रो हुन सकेन। मार्क वाट पाँच बलमा एक रन बनाएर आउट भए। दीपक डुम्रे पनि १३ रनमा आउट भएपछि टोलीले सुरुआती ओभरमै दुई विकेट गुमाएको थियो।
हुसेन तलतले १४ बलमा तीन रन मात्रै बनाउन सके। कर्णालीले १२.१ ओभरमा ७९ रन हुँदा चौथो विकेट गुमाएको थियो। त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाएपछि टोली ठूलो योगफल बनाउन असफल भयो। अन्तिम पाँच ओभरमा कर्णालीले चार विकेट गुमाएर २९ रन मात्रै जोड्यो।
जनकपुरका बलर हरमित सिंहले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिँदै दुई विकेट लिए भने मोइन अलीले दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।