काठमाडौं- नेपालको पानी विदेश निर्यात गर्ने उदेश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रिङ पानीको उत्पादन सुरु गरेको छ।
खानेपानीमन्त्री बिना मगरलगायतका विशिष्ट व्यक्तिले शुक्रबार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गरे।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका-६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारी जानकारी दिए।
अध्यक्ष भण्डारीले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भैरहेको बताउनुभयो । कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ।
नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए।
कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताएकी थिइन्।
'हाम्रो पानी प्राकृतिक रूपमा खानयोग्य छ। अरु देशको भन्दा स्वच्छ र सफा छ,' मन्त्री मगरले भनिन्, 'अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं। यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ।'
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा व्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सके देशलाई फाइदा पुग्ने बताएका थिए। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले आर्थिक समृद्धि प्राप्त गर्ने र व्यापार घाटा कम गर्न पानीको निर्यात नै उपयुक्त हुने बताएका थिए।
कम्पनीले वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।