काठमाडौं– रुपन्देही, देवदहका व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न केही अभियुक्त दुई सातापछि पक्राउ परेका छन्। गुन्डा नाइके मनोज पुनका मुख्य सहयोगीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुटर पदम चौधरी र अर्का एक व्यक्ति छन्। चौधरी पौडेल हत्यामा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति हुन्। हत्याको समयमा उनी पनि पेस्तोल लिएर गएको तर उनले गोली भने नहानेको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा रुपन्देही प्रहरीले हत्यामा संलग्नहरुलाई पक्राउ गरेको हो। तर, गिरोहका नाइकेहरु भने फरार छन्। रुपन्देहीका एसपी श्याम ज्ञवालीले हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको र आइतबार सार्वजनिक गरिने बताए।
पौडेलको गत पुस २१ गते आफ्नै फर्निचरमा गोली हत्या भएको थियो।
भारतमा बसेर धम्की र असुलीको आतंक मच्चाउदै आएका पुनले नै उनको हत्या गरेको प्रहरीले जनाएको छ। पुन र पौडेल केही वर्षअघि साथी थिए। पछिल्लो समय सम्बन्ध्र बिग्रिएपछि उनले सुटर खटाएर हत्या गरेका हुन्।
हत्यापछि बुटवलका अन्य व्यवसायीलाई धम्काएर उनको समुहले पैसा असुलिरहेको छ। उनलार्य पक्राउ गर्न प्रहरी टोली पटक पटक भारत गएपनि उनलाई समाउन असफल हुँदै आएको छ।
व्यक्तिगत दुश्मनी र अन्य व्यवसायीलाई तर्साएर पैसा असुल्ने उदेश्यले पुनले आफ्ना सहयोगी खटाएर हत्या गरेको अनुसन्धानमा आबद्ध अधिकारीहरु बताउँछन्। पुन भने विगत २ वर्षदेखि प्रहरीलाई छक्याउन सफल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।