काठमाडौं- प्रदेश नम्बर २ का प्रदेशसभाका सांसदहरुले नेपालीबाहेक भोजपुरी र हिन्दीमा समेत सपथ लिएका छन्। राजपाका तर्फबाट निर्वाचित भएका सदस्यहरुले नेपाली भाषामा तयार गरिएको सपथ नलिने अडान लिएपछि भोजपुरी र हिन्दीमा सपथ गराइएको थियो।
राजपाका महासचिव केशव झाले पार्टीले मैथिलीमा सपथ खाने सल्लाह नै दिएको र सोही अनुरुप प्रदेशका सांसदहरुले सपथ लिएको बताए।
१० बजे प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए। त्यसपछि चौधरीले प्रदेशसभाका अन्य सदस्यहरुलाई सपथ गराउन लागेका थिए।
सदस्यहरुले आफ्नो मातृभाषामै सपथ लिने अडान राखेपछि केहीबेर विवाद भएको थियो। जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा राजपका मनिष सुमन र जितेन्द्र सोनलले मातृभाषामा सपथ लिने अडान राखेका हुन्।
२ नम्बर प्रदेशका अधिकांश जनताको बोलिचालीको भाषा नेपाली नभएको भन्दै उनीहरुले मैथिली र हिन्दीमा सपथ लिने जिकिर गरेका थिए। मनिष सुमनलाई माओवादी केन्द्रका सांसद जगत यादवले साथ दिएका थिए। लगत्तै नेपाली, मैथिली, भोजपुरी र हिन्दीमा तयार गरिएको थियो।
राजपाका जितेन्द्र सोनलले हिन्दी र अर्का नेता मनिष सुमन र माओवादीका जगत यादवले मैथिलीमा सपथ लिए। कुल १०७ मध्ये ४७ जनाले मैथिली भाषा र २४ जनाले नेपाली र ३६ जनाले भोजपुरी र हिन्दीमा सपथ लिएका छन्।
प्रदेशसभाको बैठक माघ २१ गतेलाई बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।