काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने 'नाडा अटो शो- २०१९' भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। अटो शोमा सवारी बिक्रेता कम्पनीहरुले नयाँ-नयाँ सवारी बिक्री तथा प्रदर्शनीका लागि राख्नेछन्।
'नाडा अटो शो-२०१९' मा विद्युतीय (इलेक्ट्रिक) गाडी मुख्य आकर्षणको रुपमा रहने बताइएको छ। नेपाली बजारमा सवारी बिक्री गर्दै आएका विभिन्न कम्पनीहरुले अटो शोलाई नै लक्षित गरेर विद्युतीय सवारी ल्याउने तयारी गरिरहेका छन्।
अटो शोको यो संस्करणमा करिब १ दर्जन विद्युतीय कार आउने अनुमान गरिएको छ। यहाँ अटो शोमा राखिने तिनै मध्येका इलेक्ट्रिक कारको बारेमा उल्लेख गरिएको छ।
किया निरो
दक्षिण कोरियाली कार उत्पादक कम्पनी 'किया'ले उत्पादन गरेको 'निरो' इलेक्ट्रिक कार नेपाल आएको छ। यो इलेक्ट्रिक कार भदौमा हुने अटो शोमा मुख्य आकर्षणको रुपमा रहनेछ।
किया निरोले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। यो कारको सुरुवाती मूल्य ६६ लाख ९० हजार तोकिएको छ। यो कार कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले भित्र्याएको हो।
हुन्डाई कोना
हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले पहिलो पटक 'कोना' इलेक्ट्रिक कारलाई नाडा अटो शोमा राख्ने भएको छ।
कम्पनीले केही महिनाअघि ल्याएको कोना एक पटकको फुल चार्जमा ३ सय ५० किलोमिटरसम्म कुद्न सक्छ। यसको मूल्य नेपाली बजारमा ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
टाटा टिगोर इभी
टाटा 'टिगोर इभी'मा २१६ एम्पिएर क्षमताको १६ भोल्टको ब्याट्री प्रयोग गरिएको छ। यो कारमा भएको मोटरले ३९.९५ एचपी पावर जेनेरेट गर्नेछ।
एक पटकको फुल चार्जमा १ सय ३० किलोमिटरको यात्रा गर्न सकिने यो कारको शून्यबाट ८० प्रतिशतसम्मको चार्ज गर्न करिब ९० मिनेट लाग्नेछ। फुल चार्जको लागि भने ३ घन्टा लाग्ने टाटा मोटर्सले जनाएको छ।
टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त कार अटो शोमा ल्याउने भएको हो।
बिवाइडी एम–३
चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी बिवाइडीले नेपाली बजारमा मिनी मल्टी युटिलिटी भेइकल (एमपिभी) एम–३ ल्याउने भएको छ।
बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कले नयाँ गाडी ल्याउन लागेको हो। मिनी एमपिभी एम–३ दुई सिट अप्सनसहित ५ र ७ सिटरमा उपलब्ध हुनेछ।
यो गाडीको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ। बिवाइडी एम–३ ले फुल चार्जमा ३ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
एमजी जेडएस इभी
एमजीको इलेक्ट्रिक कार 'एमजी जेडएस इभी' नेपाली बजारमा आउने भएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले एमजी जेडएस नाडा अटो शोमा ल्याउने भएको हो।
कम्पनीले जेडएस इभीको बुकिङसमेत केही समय अघिदेखि लिँदै आएको छ। चीनमा बनेको एमजी जेडएस इभी नेपाल आइपुग्दा यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
एमजी जेडएस इभीले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटरको दूरी तय गर्ने जनाइएको छ।
दाय इलेक्ट्रिक
चिनियाँ इलेक्ट्रिक कार 'दाय' नेपाली बजारमा दिगो ग्रुपले ल्याएको हो।
दाय ब्रान्डको 'इभी' कार दुई ब्याट्री अप्सनको साथ उपलब्ध रहेको छ। लड एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीका साथ आएको यो कारले १ सयदेखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ।
दायका इलेक्ट्रिक कारलाई फुल चार्ज हुन ४ देखि १० घन्टासम्म लाग्नेछ। भदौ १० देखि हुने नाडा अटो शोमा १३ देखि १५ लाख रुपैयाँसम्ममा पाइने इलेक्ट्रिक कार दाय आकर्षणको रुपमा रहने अनुमान गरिएको छ।
त्यस्तै, महिन्द्राको इलेक्ट्रिक कार 'इटूओ' र 'इभेरिटो'समेत अटो शोमा राखिने छन्। कियाको 'सोल इभी' पनि अटो शोमा प्रदर्शनीका लागि राखिने भएको छ।
यी विद्युतीय कार यसअघि नै नेपाल भित्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।