काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा मागपत्र प्रमाणीकरणको काम सूचारु गर्न दूतावासलाई निर्देशन दिन भन्दै परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसियामा रोजगारीका अवसरहरु खुम्चिँदै गएको भन्दै मागपत्र प्रमाणीकरण तत्काल सूचारु गराउन भन्दै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको हो।
पत्रमा भनिएको छ, ‘रोजगारदाता कम्पनीका प्रतिनिधि मागपत्र प्रमाणीकरणका लागि दूतावास जाँदा दूतावासले प्रमाणीकरण नगराई फर्काइरहेको हुँदा अति आकर्षक काम र तलबमा नेपाली कामदारहरुको रोजगारीको अवसर गुम्दै गइरहेको जानकारी गराउँछौँ।’
यसअघि पनि म्यानपावर व्यवसायीहरुले पटकपटक मलेसिया रोजगारी खुलाउन सरकारलाई दबाब दिँदै आएका छन्। तर, १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ने टुंगो अझै लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।