काठमाडौं- सहकारी विभागले बचत तथा ऋणको सन्दर्भ ब्याजदर (रिफ्रेन्स इन्ट्रेस्ट रेट) तोकेको छ। सहकारीमा सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी समितिको बिहीबार बसेको चौथो बैठकले कर्जामा अधिकतम १६ प्रतिशत र बचतमा १० प्रतिशत ब्याजदर तोकेको हो।
इतिहासमै पहिलोपटक सहकारीमा सन्दर्भ ब्याजदर तोकिएको हो। यो साउन १९ गते अर्थात् आइतबारदेखि लागू हुनेछ।
विभागका रजिस्टार डा टोकराज पाण्डेले सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ को परिच्छेद ५ नियम २३ ले गरेको व्यवस्था बमोजिम सन्दर्भ ब्याजदर तोकिएको बताए।
यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने प्रावधान ऐनमा रहेको छ। सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संघ–संस्थाहरुको औसत ब्याजदर, सहकारी बैंकको ब्याजदर, वाणिज्य बैंकको औसत ब्याजदर लगायत विषयलाई आधार बनाउने रजिस्टार पाण्डेले जानकारी दिए।
ब्याजदर निर्धारण गर्दा बचतमा भारित औसत ब्जाजदरभन्दा बढी तर ऋणमा भारित औसत ब्याजदरभन्दा कम र बचत तथा ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा कम हुने गरी सन्दर्भ ब्याजदर तोक्नुपर्ने व्यवस्था विनियमावलीमा छ। सन्दर्भ ब्याजदर तीन तीन महिनामा पुनरावलोकन गर्न सकिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।