राजविराज– कोशीटप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका जंगली जनावरको आतंक निरन्तर खेप्नुपरेपछि सप्तरीको उत्तर–पूर्वी भेगका किसानहरु नगरपालिकाको शरणमा पुगेका छन्।
जंगली जनावरले विगत १५ दिनदेखि एक सय बिघाभन्दा बढी गहुँबाली नष्ट गरेपछि किसानले समस्या समाधानका लागि नगरपालिकालाई गुहारेका हुन्। खेतको बाली र घरको अन्न समेत जंगली जनावरले नष्ट गर्न थालेपछि आजित भएका किसानको टोलीले शुक्रबार कञ्चनरुप नगरपालिकामा पुगेर समस्याको समाधान खोज्न माग गरे।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मको सम्पूर्ण खेतीयोग्य जमिन तथा सप्तकोशी नगरपालिकाको मध्यवर्ती क्षेत्रभित्रको जमिनमा यतिबेला जंगली जनावरले सास्ती दिएको स्थानीय किसान रवि पासवानले बताए।
‘खेतको वाली मात्रै होइन, करेसाबारीको साग र भकारीको धान पनि भन्न पाइएन हजुर’, मेयर वसन्त मिश्रलाई आफ्नो समस्या सुनाउँदै रविले भने, ‘या त जंगली जनावरलाई ठेगान लाउनुपर्यो, या त हाम्रा लागि अर्को व्यवस्था गरिदिनुपर्यो।’

जंगली जनावरको उपद्रोले वर्षभरि खाने बाली नष्ट भएको गुनासो गर्दै अर्का किसान लक्ष्मी ठाकुरले भने, ‘हात्तीले कुल्चेर परिवारका सदस्य मार्दा पनि चुप लागेर बस्यौं। वर्षभरि खाने अनाजको बिउ समेत नष्ट पारेपछि अब त परिवार नै मर्ने स्थिति आयो।’
ठाकुरले जंगली जन्तु नियन्त्रणको विकल्प नभए आफूहरुलाई विकल्प देखाइदिन मेयर मिश्रलाई आग्रह गरे।
उनका अनुसार, १५ दिनभित्रै जंगली जनावरले प्रभुलाल पासवान, गर्भु पासवान, श्यामसुन्दर मण्डल, सुदर्शन श्रेष्ठ, करण मण्डल लगायत १ सय ५० भन्दा बढी किसानको १ सय बिघाभन्दा बढी गहुँ खेती नष्ट गरेको छ।
नगरपालिकासहित सम्बन्धित निकायले आफ्ना समस्यालाई गम्भीरतापूर्वक नलिए आइतबारदेखि चरणबद्ध आन्दोलनमा उत्रने किसानले चेतावनी समेत दिएका छन्।
किसानहरुको गुनासोपछि मेयर मिश्रसहितको एक टोलीले शनिबार क्षतिग्रस्त क्षेत्रको अनुगमन समेत गरेको छ।

उपमेयर निरु पोखरेल, इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक डिल्लीबहादुर चौहान र सञ्चारकर्मीको टोलीले जंगली जनावरले क्षति पुर्याएको क्षेत्रको निरीक्षण गरी सम्बन्धित निकाय मार्फत समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ।
तर, यो समस्या निराकरण गर्न मेयर मिश्र आफैं केही गर्न सक्ने स्थितिमा छैनन्। जंगली जनावरका कारण उत्पन्न भएको समस्याका विषयमा पटक–पटक कुरा उठाउँदा कतैबाट पनि सुनुवाइ नभएको उनले गुनासो गरे।
‘किसानको अवस्था र उनीहरुको तहसनहस भएको बाली हेर्दा आँसु आउँछ’, उनी भन्छन्, ‘तर, यो समस्या नियन्त्रण गर्ने क्षमता मसँग छैन। माथिल्ला निकायमा कुरा राख्दा सुनुवाइ हुँदैन।’
कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले भने किसानहरुले प्रक्रियागत निवेदन दिए आरक्षबाट न्यूनतम क्षतिपूर्ति पाउने बताए।
बालीनाली नष्ट भएकालाई बढीमा १० हजार, जनावरको आक्रमणबाट गम्भीर घाइते भएकालाई २ लाख र मान्छेको मृत्यु भएमा १० लाखसम्म क्षतिपूर्तिको व्यवस्था रहेको यादवले जानकारी दिए। मध्यवर्ती क्षेत्रमा तारजाली लगाएर जंगली जनावरवाट मुक्त हुन सकिने सुझाव प्रस्तुत गरेका अध्यक्ष यादवले किसानहरुकै अवरोधका कारण त्यो सफल हुन नसकेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।