काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आफू झन्डा हल्लाउन मात्र मन्त्री नभएको बताएका छन्।
तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार सो कुरा बताएका हुन्। सरकारले कार्यसम्पादन सम्झौता सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको दाबी गरेका मन्त्री पुनले जनताको अपेक्षालाई पूरा गर्न आफू अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशनसमेत दिए।
मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसंग पनि सम्झौता नगर्ने चेतावनी दिए। प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पूरा गर्न मातहतका निकायलाई निर्देशन दिए।
‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तालिका बनाएर नै काम गर्नुपर्यो। सरकारले अघि सारेको कामलाई सफल पार्नु हामि सवैको दायित्व हो,’ मन्त्री पुनको भनाइ थियो।
‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन’ मन्त्री पुनले कडा शब्दमा चेतावनी दिए।
नेकपाका नेता समेत रहेका मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे। उनले हरेक महिना मन्त्रालयमा समिक्षा बैठक राखेर कामको प्रगति विवरण लिने घोषणा समेत गरेका थिए।
कागजमा निर्देशन दिने र प्रगति देखाउने प्रवृति निरुत्साहित गर्नुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कारबाही बुझ्न र परिणाममुखी काम गर्न उहांले सम्बन्धीत कार्यालय प्रमुखहरुको ध्यान आकर्षण समेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।