काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा १ लाख ७५ हजार ९ सय ९ जना बेरोजगार युवाहरुले औषतमा १३ दिनको रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न ल्याएको कार्यक्रम सफल नै मान्नुपर्ने मन्त्रालयको जिकीर छ।
गत आर्थिक वर्षमा बेरोजगारी सूचीमा सूचीकृत युवाहरुलाई सरकारले ३० दिनको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय लिएको थियो।
सोही अनुरुप रोजगारी उपलब्ध गराउने क्रममा देशभर औषतमा १ लाख ७५ हजारभन्दा बढी कामदारले न्यूनतम १३ दिनको रोजगारी पाएका हुन्।
मन्त्रालयमा हालसम्म प्राप्त विवरण अनुसार ५ सय ९९ स्थानीय तहले कुल ६ हजार ८ सय ६४ वटा आयोजना सम्पन्न गरेको बताइएको छ।
अझै केही स्थानीय तहहरुबाट अझै विवरण आउन बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार फूलबारी गोड्ने, कुलो, खन्ने, सरसफाई, बाटोघाटो मर्मत गर्ने चौतारो बनाउने, लगायतका आयोजनाहरु निमार्णमा रोजगारी प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
छोटो समय अवधिमा झन्डै २ लाख बेरोजगार युवाहरुलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको श्रम मन्त्री गोकर्ण विष्टले बताए। उनले भने,‘यति छोटो अवधिमा थोरै बजेटबाट यतिधेरै बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न सरकार सफल भएको छ, यसमा निकै गर्व महशुस गरेको छु।’
चालु आर्थिक वर्षमा थप ५ लाख युवालाई न्यूनतम १०० दिनको रोजगारीको सूनिश्चितता गरिने मन्त्री विष्टले बताए।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले एक आर्थिक वर्षमा १ सय दिनको न्यूनतम रोजगारी प्रप्त गर्ने सक्ने सूचीकृत बेरोजगार व्यक्तिको तोकिएको मापदण्डभित्र पर्ने परिवारलाई १ सय दिनमध्ये रोजगार नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबर रकम निर्वाह भत्ता उपलब्ध गराउने व्यबस्था गरिएको छ।
चालु आर्र्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ५ अर्ब १ करोड बजेट छुट्याएको छ। गरिबी, बेरोजगारी र अभावमा पिल्सिएका युवाहरुलाई देशभित्रै रोजगारीका अवसर सिर्जना गरी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।