काठमाडौं- नेपाल राष्ट्र बैंकले एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा सेयर भएको विवरण ‘क्रस होल्डिङ’ तयार पारेर पठाउन पत्राचार गरेको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा ०.१ प्रतिशतभन्दा बढी सेयर लगानी भएमा लगानीकर्ताको विवरण तयार पारेर बुझाउन पत्राचार गरेको बताए। कालान्तरमा कुनै एक संस्थामा मात्र सेयर स्वामित्व कायम हुने गरी यस्तो विवरण संकलन गर्न लागिएको उनको भनाइ छ।
‘यदि कुनै लगानीकर्ताको कुनै बैंकमा निश्चित परिमाणभन्दा बढी लगानी छ भने त्यसको विवरण बुझाउन राष्ट्र बैंकले चिठी काटिसकेको छ। तपाईंको संस्थामा चुक्ता पुँजीको शून्य दशमलव १ प्रतिशतभन्दा बढी लगानी गर्ने लगानीकर्ता को हुन् भनेर खोज्न लगाएका छौं। त्यसरी तथ्यांक खोज्दा एकै परिवारका सदस्यको विवरण पनि हेर्न भनेका छौं,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा शिवाकोटीले भने।
कुनै संस्थामा लगानीकर्ता दोहोरिएपछि उनीहरुलाई मर्जरमा जानका लागि राष्ट्र बैंकले निर्देशन दिने पनि उनको भनाइ छ।
फोर्स मर्जरका विषयमा राष्ट्र बैंक ‘ब्याक’ नभएको पनि शिवाकोटीले स्पष्ट पारे।
‘मौद्रिक नीतिले फोर्स मर्जरको विषयमा केही व्यवस्था ल्याएन भन्ने खालको प्रतिक्रिया पनि आएको छ। त्यस्तो होइन। हामीले मर्जरमा जाने संस्थाकै लागि भनेर विभिन्न ५ वटा सुविधा दिएका छौं। फोर्स मर्जर गर्दा राष्ट्र बैंकले पहिला स्पष्ट नीति बनाउँछ, एक दुई वर्षको समय दिएर अनि फोर्स मर्जरमा जाने हो,' उनले भने।
कसैलाई सकसमा पारेर फोर्स मर्जरमा नजाने भन्दै उनले पहिलो प्राथमिकता स्वेच्छिकलाई नै दिइने प्रस्ट्याए। 'त्यसो भएन भने फोर्स मर्जरमा जान्छौं। आज भनेर १५ दिन, एक महिना भित्रमा यस्तो गरिहाल्ने भनेर राष्ट्र बैंकले भन्दैन। राष्ट्र बैंकबाट नीति बनाएर, कमसेकम एक डेढ वर्षको समयावधि राखेर बिग मर्जर हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।