काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले व्यवसाय गर्ने वातावरण सुधार गर्न पहल नगरेको धारणा राखेका छन्।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष गोल्छाले तरलता अभाव व्यवस्थापन, कर्जामा उच्च अंकको ब्याजदर कायम हुनु र साना व्यवसायीलाई कर्जामा समस्या भइरहने कारणले व्यवसाय गर्ने वातावरणमा मौद्रिक नीति खासै सुधार गर्नसक्ने अपेक्षा नीजि क्षेत्रले नराखेको बताए।
‘पछिल्ला तीन आर्थिक वर्षमा निरन्तर उच्च अंकको आर्थिक वृद्धिदर भइरहेको छ। आर्थिक वृद्धिदर बढ्दा कर्जाको माग पनि बढेको छ। अहिले कुनै पनि बैंकमा ऋण माग्न गयो भने तरलता अभावको समस्या भन्दै ऋण पाउनै सकस छ। त्यसैमाथि ब्याजदर पनि चर्को छ,’ उपाध्यक्ष गोल्छाले भने।
राष्ट्र बैंकले ब्याजदर घटाउन पहल गरेको भन्दै आएपनि नीति क्षेत्रले भने त्यसको अनुभुति गर्ने आधार नपाएको उनको भनाइ छ। ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिले कुल चुक्ता पूँजीको २५ प्रतिशत डिबेन्चर जारी गर्नुपर्ने व्यवस्था गरेको छ। तर हालसम्म जारी भएको डिबेन्चरको ब्याजदर १० प्रतिशतभन्दा माथि छ।
ऋणको ब्याजदर त यो भन्दा बढी नै हुन्छ। यसकारण ब्याजदर घट्छ भनेर हामीलाई शंका लागेको छ। स्प्रेड दर घटाउन सकेको भए ब्याजदर अझ घट्न सक्थ्यो,’ उनको भनाइ थियो।
साना व्यवसायीलाई ऋण लिन समस्या रहेको विषयलाई पनि मौद्रिक नीतिले कुनै दिशानिर्देश गर्न नसकेको उनको भनाई छ। ‘घरेलु तथा साना उद्योगका लागि ऋण लिन बैंकमा जाँदा सानो रकम ऋण दिन हिच्किचाउने गुनासो पनि नीजि क्षेत्रले भोगेको छ। थुप्रै विषय छन् जसले व्यवसाय गर्ने वातावरणलाई असर पारिरहेका छन् तर मौद्रिक नीतिले ती विषयलाई सम्बोधन गर्न सकेको छैन,’ उनले भने।
मौद्रिक नीतिले लगानी गर्ने वातावरण सहज बनाउन नसकेको प्रति साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले पनि गुनासो गरे। ‘आन्तरिक उत्पादकत्व घट्दै गएका कारण व्यापार घाटा पनि बढेको अवस्थामा उत्पादकत्व वृद्धिका लागि मौद्रिक नीतिले कुनै नयाँ व्यवस्था गर्न नसकेको छैन। साना उद्योगीलाई त ऋण पाउनै मुश्किल छ,’ गिरिले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।