नयाँदिल्ली- भारतीय बजारमा पछिल्लो केही महिनायता प्यासेन्जर कारको बिक्री निरन्तर ओरालो लागेको छ।
त्यस्तैमा सबैजसो कार उत्पादकको बिक्री घटिरहेको तथ्यांकले देखाएको छ।
सन् २०१९ को जुलाईमा भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीको बिक्री करिब ३४ प्रतिशतले घटेको छ। सुजुकीको आन्तरिक बिक्री भने जुलाईमा ३६.३ प्रतिशतले घटेको छ।
२०१९ को जुलाईमा मारुतीले भारतमा ९८ हजार २ सय १० वटा कार बिक्री गरेको छ। गत वर्षको सोही अवधिमा मारुती सुजुकीले १ लाख ५४ हजार १ सय ५० वटा कार बिक्री गरेको थियो।
मरुतीका मिनि कारको बिक्री ७० प्रतिशतले कमी आएको छ। मारुतीका साना कार अल्टो, वेगनआरलगायतको बिक्री ६९.३० प्रतिशतले घटेको देखिन्छ।
यो वर्षको जुलाईमा यी कार भारतमा ११ हजार ५ सय ७७ वटा बिक्री भएको छ। जबकी गत वर्षको सोही अवधिमा यी कार ३७ हजार ७ सय १० वटा बिक्री भएको थियो।
त्यस्तै कम्प्याक्ट क्याटागोरीका स्वीफ्ट, सेलेरियो, इग्निस, बलेनो र डिजायरको बिक्री पनि २२.७ प्रतिशतले कमी भई यो वर्षको जुलाईमा ५७ हजार ५ सय १२ वटा बिक्री भएको छ।
गत वर्षको सोही अवधिमा यो सेगमेन्टमा ७४ हजार ३ सय ७३ वटा बिक्री भएको थियो।
मरुतीको युटिलिटी भेइकल भिटारा ब्रेजा, एसक्रस र इर्टिगाको बिक्री २०१९ को जुलाईमा ३८.१० प्रतिशतले घटेर १५ हजार १ सय ७८ मा सीमित भएको छ।
त्यस्तै जुलाईमा सुजुकीको निर्यात ९ प्रतिशतले घटेर ९ हजार २ सय ५८ मा सीमित भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।