काठमाडौं- प्रदेश ३ मा सवारी दर्ता ९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश ३ मा २८ हजार ९३ वटा सवारी दर्ता भएको ललितपुरको एकान्तकुनास्थित साना/ठूला सवारी कार्यालयले जनाएको छ। आव २०७४/७५ मा प्रदेश ३ मा २५ हजार १ सय १३ वटा सवारी दर्ता भएका थिए।
गत आवमा प्रदेश ३ मा सबैभन्दा धेरै कार, जीप र भ्यान १६ हजार ५ सय ७८ वटा दर्ता भएका छन् भने सबैभन्दा कम १ सय १८ वटा एम्बुलेन्स दर्ता भएको तथ्यांक छ।
त्यस्तै, प्रदेश ३ मा एक वर्षमा ९ सय २१ वटा बस, १ हजार ३ सय ५३ वटा मिनिट्रक/मिनिबस, १ हजार ६ सय ९६ वटा क्रेन, डोजर, एस्काभेटर, लोडर र रोलार, २ हजार २ सय ९० वटा ट्रक, टिपर, ट्यांकर र कन्टेनर आयात भएका छन्।
दर्ता संख्या धेरै वृद्धि हुनेमा पिकअप रहेको छ। अफ रोड बाटोमा सजिलै गुडाउन सकिने भएकाले यो मोडलका गाडीको बिक्री बढेको हो। आव २०७५/०७६ मा प्रदेश ३ मा ४ हजार ६ सय २८ वटा दर्ता भएको छ। जबकी गत वर्ष ३ हजार १ सय ७७ वटा मात्र दर्ता भएका थिए।
त्यस्तै, गत आवमा ३ सय ७१ वटा माइक्रो, १ सय ३५ वटा कूटनीतिक सवारी दर्ता भएका छन्।
आव २०७४/७५ मा बसको दर्ता ८ सय ३३, मिनिबस/मिनिट्रक ९ सय ३४, क्रेन, डोजर, एस्काभेटर, लोडर र रोलर २ हजार १ सय १३ वटा दर्ता भएका कार्यालयको तथयांक छ।
त्यस्तै ट्रक, टिपर, ट्यांकर र कन्टेनर १ हजार ९ सय ९१ वटा, कार, जीप र भ्यान १४ हजार ५ सय ४२ वटा, माइक्रो १ हजार ४ सय ५७ वटा दर्ता भएका थिए। साथै १ सय ३६ वटा कूटनीतिक सवारी र २० वटा एम्बुलेन्स दर्ता भएको तथ्यांक कार्यालयले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।