काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले औद्योगिक कच्चा पदार्थका नाममा 'फिनिस्ड प्रडक्ट' (तयारी वस्तु) आयातमा सरकारले छुट दिन नसक्ने बताएका छन्। आज काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूर्ण प्रशोधित वस्तुलाई अर्को औद्योगिक उत्पादनको कच्चा पदार्थ भन्दै छुट दिन नसक्ने प्रस्ट्याए।
'हामीले तयारी वस्तु र कच्चा पदार्थको बीचमा भन्सार दरमा एक तहको अन्तर बनाएका छौं, कुनै एउटा तयारी वस्तु अर्को वस्तु उत्पादनमा कच्चा पदार्थ बन्छ, त्यस्ता वस्तुमा हामी अघि बढ्न सक्दैनौं,' अर्थमन्त्री खतिवडाले भने, 'पूर्ण प्रशोधित वस्तुलाई औद्योगिक कच्चा पदार्थ हो भनेर छुट दिन सक्ने स्थिति रहँदैन।'
सरकारले मुलुकको राष्ट्रिय पुँजी निर्माणका लागि औद्योगिक संरक्षण दिएको भन्दै उनले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन्। 'पहिले राजस्वको मूल स्रोत नै भन्सार भन्ने थियो, अब त्यो परिवर्तन भएर आन्तरिक उत्पादनतर्फ अघि बढिरहेको छ,' उनले भने, 'अब उत्पादन वृद्धि हुने गरी लगानी बढाउनुस्।' मन्त्री खतिवडाले उपभोक्तालाई मार नपर्ने गरी केही वस्तुमा सरकारले संरक्षण दिइरहेको पनि उल्लेख गरे।
छिमेकको व्यापारमा अझै समस्या
मन्त्री खतिवडाले तेस्रो देशसँगको व्यापारमा समस्या नभए पनि छिमेकी देश र त्यसमा पनि भारतसँगको व्यापारमा अझै पनि 'ग्रे एरिया' रहेको उल्लेख गरे।
खुला सिमानाका कारण मान्छे ओहोरदोहोर गर्न सहज रहेकाले त्यसैको माध्यमबाट वस्तु आयात भइरहेकाले त्यसको नियन्त्रण हुनुपर्ने उनको भनाइ छ। तेस्रो मुलुकसँगको व्यापारमा भने सस्ता वस्तुको डम्पिङ बन्न सक्ने चुनौती नेपालसँग रहेको उनले बताए।
'अहिले हामीलाई देखिएको चुनौती तेस्रो मुलुकतर्फको आयातमा सस्तो मूल्यका वस्तुको डम्पिङ बन्छौं कि भन्ने हो,' उनले भने, 'यसलाई रोक्न हामीले सेफगार्ड एन्टी डम्पिङ र काउन्टर भेलिङ ड्युटी लगाउने गरी कानुन बनाइरहेका छौं।'
चीनतर्फको व्यापार व्यावहारिक सुधारका साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले त्यसलालाई बैंकिङ माध्यमबाट स्थापित गर्ने गरी काम गर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।