काठमाडौं- अन्य देशका तुलनामा नेपाली कृषकले किटनाशक औषधीको प्रयोग कम गर्ने भए पनि यसको बढी असर नेपालमा नै पाइएको छ।
प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराज शर्माका अनुसार नेपालमा प्रति हेक्टर ३ सय ९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग गर्ने गरिएको छ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको आयोजनामा बुधबार राजधानीमा आयोजित नेपालमा विषादीको प्रयोग र स्वास्थ्यमा असर विषयक कार्यक्रममा उनले भने, ‘नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजानेका कारण वढी असर देखि रहेको छ।’
डा. शर्माका अनुसार जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ । त्यता मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिएको छैन।
विषादी प्रयोग गरिएका खाद्यान्न र तरकारीको उपभोग गर्दा स्वास्थ्यमा असर हुने जानकारी दिँदै उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन गरिरहेको जानकारी दिए।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राशायनिक विषादीलाई विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सवै तह र तप्काबाट दबाब दिनुपर्ने बताए। सदनमा अलपत्र अवस्थामा झैं रहेको जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्व पारित गराउन पहल गर्नुपर्ने धारणा राखे। यो विधेयकमा विषादीको अनुचित प्रयोग गरिएको खण्डमा कम्तीमा २५ हजार जरिवाना र १ महिना जेल सजाय हुने व्यवस्था गरिएको छ भने वढीमा २ लाख रुपैयाँ जरिवाना र १ वर्ष जेल हुने प्रावधान राखिएको छ। मुल्मीले भने, ‘विषादीकै कारण धेरै जनता अनाहकमा विरामी हुन परिरहेको र राज्यले जनताको स्वास्थ्यमा अझ चिन्ता लिएर प्रचारात्मक अभियान चलाउनुपर्ने बताए।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा. शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणिकरण गरी प्रयोग गर्न प्रोत्साहन दिएको खण्डमा जनता स्वस्थ हुन सक्ने जानकारी दिए।
जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने जानकारी दिए। विभिन्न अध्ययनले विषादीबाट स्मरणशक्तिमा र्हास हुने, मनोरोग लाग्ने ,छालाको रोग लाग्ने पुष्टि भएको पनि उनले बताए। उनका अनुसार विषादीको अधिक प्रयोगले प्रजनन प्रणालीमा असर भइ गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुने गर्दछ।
फोरेस्ट एक्सनका कृष्ण पौडेलले खानेकुरामा मन्द विष रहेको जानकारी दिंदै मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगको कारक तत्व विषादीयुक्त खाना भएको बताए। माटोले अहिले काम गर्न छाडेको, खानेकुरा अस्वस्थकर हुँदै गएको र पर्यावरण पनि विग्रेको जानकारी उनले दिए।
सबैभन्दा बढी तराइमा विषादी प्रयोग हुने गरेको र नेपालमा आउने विषादी मध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको जानकारी पनि दिइएको थियो।
सामाजिक अभियन्ता मदन राईले हाम्रो शरीर र ब्रम्हाण्ड पञ्चतत्वले बनेको कारणले जैविक पर्यावरणमा जोड दिनुपर्ने बताए। उनले भने, 'यहाँ अस्पताल खुल्छ तर रोग लाग्न नदिन कुनै निकाय खोलिँदैन।’ कार्यक्रममा यमूना घले र टीना गोर्खालीले पनि कीटनाशक औषधी र विषादीका सम्बन्धमा प्रस्तुति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।