काठमाडौं- राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन्।
नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दाबी गरे।
‘सहकारीको सन्र्दभ ब्याजदर निर्धारण गर्न अपरिहार्य भइसकेको छ,' उनले भने, ‘साढे १६ प्रतिशत भन्दा तल झारिए सहकारी मर्कामा पर्ने निश्ति छ।’ ब्याजदर निर्धारणका लागि महासंघले साढे १७ प्रतिशत सिफारिस गरेपनि समितिले उचित निर्णय गर्ने बडालले बताए।
‘सहकारीलाई सिद्वान्तबाहिर जाने कसैलाई छुट छैन,' उनले भने, ‘सहकारीले वित्तीय विवरण बढाउने मात्र नभई गुणस्तरीय सेवा दिन जोड दिनुपर्छ।’
सहकारी ऐन २०७४ मै सन्दर्भ ब्याजदर उल्लेख गर्दा पनि निर्णय गर्न गाह्रो भएको बताए। ‘सन्दर्भ ब्याजदर निर्धारण गर्ने विषय सरकारले लादेको विषय होइन, यो अभियानका लागि अपरिहार्य विषय हो,’उनले भने। सहकारीमा समस्या भएको स्वीकार गर्दै अध्यक्ष बडालले चल्न नसके सहकारी मर्जरमा जानुपर्ने बताए।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि नहट्ने बताएका छन्। ‘भावना र इमोसनले सहकारीको ब्याजदर नतोकिने हुदैँन,' उनले भने, ‘अब छिट्टै नै सन्दर्भ ब्याजदर निर्धारण हुन्छ।’
प्राविधिक कमिटीले दिएको प्रतिवेदनको आधारमा छलफल भइरहेको भन्दै रजिष्ट्रार पाण्डेले छिट्टै सरोकारलाला निकायको छलफल सन्र्दभ ब्याजदर निर्धारण हुने बताए। ‘कसैको दवाव आएपनि सन्दर्भ ब्याजदर निर्धारण गर्ने जिम्मेवारीबाट पछि हट्ने छैनौं,’उनले भने, ‘ऐनले दिएको अवसर गुम्न दिने छैनौं।’
नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र विष्टले केही सहकारीले थोरै ब्याजदरमा पनि ऋण दिने गरेको भन्दै सहकारीको ब्याजदर घटाउन सकिने बताए। ‘छलाङ मारेर २४/२५ प्रतिशतलाई झारेर १२/१३ प्रतिशत बनाउन सकिने अवस्था छैन्,’ उनले भने।
सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा नियम मान्ने कि व्ववहार मान्ने भन्ने प्रश्न खडा भएको उनको भनाइ छ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा कार्यान्वयन गर्न सहज हुनेगरी गर्नुपर्ने बताए। ‘यो लिने र दिने तथा माग र आपुर्तीले निर्धारण गर्ने कुरा हो,’उनले भने।
कार्यकममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डीबी बस्नेतलगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।