काठमाडौं– १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुलाए आफ्नो व्यवसायको लाइसेन्स सरकारलाई जिम्मा लगाउने म्यानपावर व्यवसायीहरुले चेतावनी दिएका छन्।
मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका उनीहरुले यस्तो चेतावनी दिएका हुन्। ८५ प्रतिशतभन्दा बढी म्यानपावर व्यवसायीहरु मलेसियासँग निर्भर रहेको र मलेसिया बन्द भएसँगै ठूलो संकट आएको उनीहरुको भनाइ छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आवेगमा आई कुनै कूटनीतिक पहलबिना मलेसिया रोजगारी बन्द गर्दा समस्या निम्तिएको बताए। ‘कसैको इगोलाई लिएर मन्त्रीज्युले आवेगमा एक्सन लिँदा कामदारहरुको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारी संकटमा परेको छ,’ अध्यक्ष गुरुङले भने।
सरकारले गत कात्तिक १२ गते मलेसियासँग गरेको श्रम समझदारी (एमओयु) मा नेपाली कामदारहरुको सम्पूर्ण लागत शुल्क रोजगारदाता कम्पनीले बेहोनुपर्ने उल्लेख भइसकेकाले अब मलेसिया बन्द गरिराख्नुको औचित्य नरहेको अध्यक्ष गुरुङको भनाइ छ।
‘सरकारले तत्काल मलेसिया रोजगारीको टुंगो लगाउनुपर्यो, कि त मलेसिया बन्द भयो भनेर घोषण गर्नुपर्यो,’ उनले भने, ‘होइन भने हामी सरकारलाई लाइसेन्स जिम्मा लगाउन बाध्य हुन्छौं।’
वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाले मलेसिया रोजगारी बन्द भएसँगै एकातिर व्यवसायीहरु जटिल अवस्थामा रहेको र अर्कातर्फ नेपाली कामदारको रोजगारीका अवसर गुम्दै गइरहेको प्रस्ट पारे। तत्काल मलेसिया रोजगारी बन्दको असर नदेखिए पनि कालान्तरमा यसले ठूलो समस्या निम्त्याउने उनको भनाइ छ।
सरकारले मलेसिया सरकारसँग श्रम सम्झौता गरेको तर सम्झौताका विषयहरु सार्वजनिक नगर्नुले आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गरिएको प्रथम उपाध्यक्ष भान्तानाले बताए। ‘सरकारले एमओयुमा समावेश भएका सार्वजनिक नगर्नु पनि शंकास्पद छ,’ उनले भने।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग व्यवसायीहरुले मलेसिया रोजगारीको निष्कर्षको माग अघि सारेका छन्। महानिर्देशक भुसालले भने मलेसिया रोजगारी सधैंका लागि बन्द नहुने आश्वासन दिए।
‘मलेसिया रोजगारी सधैंका लागि बन्द भएको होइन, खुलाउने प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भने।
व्यवसायीहरुले मलेसिया रोजगारी कहिले खुल्छ, अहिले नै स्पष्ट जवाफ दिनुपर्ने भन्दै महानिर्देशक भुसालसँग प्रश्न राखेका थिए।
व्यवसायीहरुको जवाफमा भुसालले मलेसिया रोजगारी यसै दिनदेखि खुल्छ भनेर यकिन गर्न नसक्ने बताए। मलेसियाका बारेमा मन्त्रालयसँग छलफल गरिनेछ। मन्त्रालयको निर्देशन अनुसार म जवाफ दिन्छु, महानिर्देशक भुसालले प्रस्ट पारे।
२०७५ जेठ २ गतेदेखि नयाँ श्रम स्विकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका छैनन्। मलेसिया रोजगारी बन्द रहेको १४ महिना बितिसक्दा यसबारे अझै टुंगो लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।