कैलाली- प्रदेश नम्बर ७ का प्रमुखको भवन, आवास गृह र सभाहलको टुंगो लागेको छ।
सरकारले बुधबार प्रदेश प्रमुख र अस्थायी राजधानीको टुंगो लगाएपछि क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको संयोजकत्वमा गठित समितिले भवनहरुको अध्ययन, अवलोकन गरेको थियो।
समितिले प्रदेश प्रमुखको सचिवालय घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनलाई तोकेको छ भने आवसगृह क्षेत्रीय वन निर्देशनालयको तीनतले भवनमा रहनेछ।
यस्तै, जिल्ला समन्वय समितिको बैठक हललाई प्रदेशसभा भवन बनाइएको छ। क्षेत्रीय प्रशासक पौडेलले तोकिएको भवनमा सजावटका कामसमेत अघि बढिसकेको बताए। पौडेलका अनुसार जिल्ला समन्वय समितिको सभाहल र ६ वटा कोठा खाली गर्ने काम भइरहेको छ।
प्रदेश प्रमुखले शुक्रबार राष्ट्रपतिबाट सपथ लिइसकेका छन्। अब तत्कालै प्रदेश प्रमुख आफ्नो कार्यालयमा उपस्थित हुनुपर्नेछ। प्रदेश ७ को प्रमुख प्रमुखमा मोहनराज मल्ल तोकिएका छन्।
‘अहिले तोकिएका संरचनाहरु अस्थायी हुन्,’ क्षेत्रीय प्रशासक पौडेलले भने, ‘यी सभाहल भोलि प्रदेश सरकार बनेपछि फेरबदल हुन सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।